दोलालघाटमा पूजा गरेका 'गुरु' ईश्वर भन्छन्, 'निर्देशक राजीवको ग्रह पूजा गरेर सारुकसहितलाई बुटी दिएको हुँ'

दोलालघाटमा पूजा गरेका 'गुरु' ईश्वर भन्छन्, 'निर्देशक राजीवको ग्रह पूजा गरेर सारुकसहितलाई बुटी दिएको हुँ'

काठमाडौँ : कलाकार सारुक ताम्राकारसँगै जोडिएर आएको अन्धविश्वास मसान पूजामा संलग्न गुरु भनिने ईश्वर अधिकारीले सात महिना अगाडि सिन्धुपाल्चोकको दोलालघाटमा ग्रहशान्ति पूजा गरेको स्वीकार गरेका छन्।

उनको दाबी अनुसार त्यो ग्रहशान्ति पूजा सारुक र नम्रताको नगरी फिल्म ह्यासट्याग मायाको निर्देशक राजीव गुरुङको गरिएको हो। ग्रहको अवस्था राम्रो होस् अनि दुख नदियोस् भनेर पूजा गरेको उनले स्वीकार गरे।

राजीवले शनिवार सात महिना अगाडि दोलालघाट गएर पहिला शिव मन्दिरमा पूजा गरेको र पछि आफू होटेलमा बसेर गुरु अधिकारीसहित तीन जना १२ बजे मसानघाटमा पूजा गर्न गएको सार्वजनिक गरेका थिए। सारुकको परिवारका अनुसार आत्महत्यापछि उनको गलामा बुटी फेला परेको थियो।

आइतबार उकेरासँग कुरा गर्दै अधिकारीले मसानमा नभई शिव मन्दिरमै पूजा गरेर राजीवलाई बुटी लगाइदिएको दाबी गरे। सारुकले पनि आफ्नो बुटी लगाएको तर सो बुटी दोलालघाटको पूजापछि नभई पहिल्यै घरमै लगाएको उनले दाबी गरे।

'मेरो बुटीमा त्यस्तो केही मिसाइएको हुन्न। उहाँहरूसहित १५ जना जतिले लगाउनुभएको छ,' अधिकारीले उकेरासँग भने' मेरो मन चञ्चल भइरहेको छ गुरु भनेपछि सारुकलाई बुटी लगाइदिएको हुँ' उनले भने।

मन अस्थिर हुने, ग्रहले दुख दिनेहरूले आग्रह गरेपछि विशेष पूजा गर्ने गरेको उनको दाबी छ। दुई वर्ष अगाडि चिनजान भएको नम्रताले ग्रह पूजा गर्न आग्रह गरेपछि दोलालघाट गएर पूजा गरेर काठमाडौँ फर्किएको उनले बताए।

नम्रता आफ्नो मुख बोली चेली रहेको तर दीक्षा भने नलिएको उनले बताए। नम्रताले गुरुजी भन्ने गरेकाले गुरु-चेलीको सम्बन्ध रहेको उनले बताए।

'मैले दिने बुटीले कसैको मन शान्त हुन्छ भने दिनुपर्छ भनेर दिने हो। विश्वास गर्नेहरू पनि हुन्छन्। जसले बुटी लगाउनु भएको छ उहाँहरूले मन स्थिर भएको छ भन्नुहुन्छ' उनले दाबी गरे।

मध्यरात दोलालघाटको शिव मन्दिर नजिकैको मसानघाटमा बोका बली दिएर गरिएको पूजाबारे भने उनले विस्तृत खुलाउन चाहेनन्।

सारुकले गत बिहीबार आफ्नै घरमा आत्महत्या गरेका थिए। यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

सारुक आत्महत्या प्रकरण

असार ३१, २०८० आइतबार १५:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।