दर्शकलाई मुक्का हान्ने आर्मीका भलिबल खेलाडीलाई लगाइयो ६ महिनाको प्रतिबन्ध
काठमाडौं : खेल हेर्न आएका दर्शकलाई कुट्न जाने त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी धनबहादुर भट्टलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ।
नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीका समेत खेलाडी रहेका भट्टलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा ६ महिनाको प्रतिबन्ध लगाएको हो।
सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको गण्डकी प्रदेशसँगको खेल दौरान धनबहादुर भलिबल कोर्ट नै छाडेर एक दर्शकलाई मुक्का हान्न पुगेका थिए। उक्त खेलमा आर्मी टिमका खेलाडीहरुले होस गुमाउँदा दर्शकमाथि जाई लागेका थिए।
त्यसैगरी दर्शकलाई हातपात गरेको आरोपमा आर्मीकै राजेन्द्र विष्ट र धनपती कुँवरलाई पनि ३ महिनाको प्रतिबन्ध लगाइएको छ।
यस घटनाको छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा भलिबल संघले यो कारबाही गरेको हो।
असार ३१, २०८० आइतबार १३:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।