जनकपुर–जयनगर रेलसेवा अब महोत्तरीको भंगाहासम्म, बर्दिबाससम्म लगिने योजना

जनकपुर–जयनगर रेलसेवा अब महोत्तरीको भंगाहासम्म, बर्दिबाससम्म लगिने योजना

धनुषा : भारतको जयनगरबाट आज (आइतबार) देखि जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यस सेवाको आज शुभारम्भ गरे।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुनेछ।

दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिवाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ। 

१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो। सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए। यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ।

असार ३१, २०८० आइतबार १२:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।