भारतले पठाएको चन्द्रयानको पहिलो कक्षीय परिक्रमा सफल, २३ अगस्टमा चन्द्रमामा पुग्ने दाबी

भारतले पठाएको चन्द्रयानको पहिलो कक्षीय परिक्रमा सफल, २३ अगस्टमा चन्द्रमामा पुग्ने दाबी

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले शनिबार चन्द्रयान-३ को पहिलो कक्षीय परिक्रमा गर्ने प्रक्रिया सफलतापूर्वक पूरा गरेको बताएका छन्। 

अर्थात् चन्द्रयान अब पृथ्वीको ठूलो कक्षमा पुगेको छ। यो प्रक्रिया बेंगलुरुमा रहेको टेलिमेट्री ट्र्याकिङ एण्ड कमाण्ड नेटवर्कबाट नियन्त्रण गरिएको छ।

३१ जुलाइसम्म थप ४ पटक कक्ष परिक्रमा गर्ने प्रक्रिया अघि बढाइएको छ।

इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको छ- चन्द्रयान–३ पूर्णरूपमा ठीक अवस्थामा छ। यो पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा १७३ किलोमिटर र यसको सबैभन्दा टाढाको बिन्दुमा ४१ हजार ७६२ किलोमिटरको दूरीमा छ। 

भारतीय समयअनुसार ​​​​​​​चन्द्रयान १४ जुलाईमा २ बजेर ३५ मिनेटमामा सफलतापूर्वक प्रक्षेपण गरेको इसरोले जनाएको छ। चन्द्रयानलाई आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट LVM3-M4 रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो।

प्रक्षेपण भएको १६ मिनेटपछि चन्द्रयान सफलतापूर्वक पृथ्वीको कक्षमा राखिदिएको उसले जनाएको छ।

इसरो प्रमुख एस सोमनाथले भने, 'यदि सबै योजनाअनुसार चल्यो भने, यान २३ अगस्टमा ५ बजेर ४७ मिनेटमा चन्द्रमामा अवतरण हुनेछ।'

उक्त चन्द्रयान-३ मा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल छ। ल्यान्डर र रोभरले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ र त्यहाँ १४ दिनसम्म परीक्षण गर्नेछ।

प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्ने जनाइएको छ। मिसनमार्फत इसरोले चन्द्रमाको सतहमा कसरी भूकम्प आउँछ भन्ने कुरा पत्ता लगाउनेछ। यसले चन्द्रमाको माटोको पनि अध्ययन गर्नेछ।

यदि सफ्ट ल्यान्डिङ अर्थात् मिसन सफल भयो भने अमेरिका, रुस र चीनपछि भारत यस्तो गर्ने चौथो देश बन्नेछ। अमेरिका र रुस दुवैले सफलतापूर्वक चन्द्रमामा अवतरण गर्नुअघि धेरै अन्तरिक्ष यान दुर्घटना भएका थिए। सन् २०१३ मा चाङ्गे-३ नामक मिसनमा पहिलो प्रयासमा सफल हुने एक मात्र देश चीन थियो। 

असार ३१, २०८० आइतबार ०९:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।