नयाँ दलहरूप्रति कांग्रेस महामन्त्रीको व्यंग्यः खहरेबाट बिजुली निकाल्न सकिँदैन

नयाँ दलहरूप्रति कांग्रेस महामन्त्रीको व्यंग्यः खहरेबाट बिजुली निकाल्न सकिँदैन

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति व्यंग्य गरेका छन्। 

शनिबार तमुसंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री शर्माले पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए।

निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूसँग उनले आग्रह गरे। 

‘अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृतिहरू पनि पुराना हुन्। यो देश आफैंमा पनि पुरानो हो,’ उनले भने, ‘पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन।’

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए।

उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई नविन बनाउने क्रम सुरू हुने बताए।

असार ३१, २०८० आइतबार ०८:०७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।