सारुक घटनामा जोडियो अन्धविश्वास, निर्देशक राजीव भन्छन्' मध्यरात सारुक र नम्रता तान्त्रिकसँग मसानघाट गएर पूजा गरेका थिए'

सारुक घटनामा जोडियो अन्धविश्वास, निर्देशक राजीव भन्छन्' मध्यरात सारुक र नम्रता तान्त्रिकसँग मसानघाट गएर पूजा गरेका थिए'

काठमाडौँ : फिल्म ह्यासट्याग मायाका निर्देशक राजीव गुरुङले अभिनेत्री नम्रता श्रेष्ठको आग्रहमा सारुक मध्यरात १२ बजे दोलालघाटको मसानघाटमा गएर पूजा गरेको पुष्टि गरेका छन्। सात महिना अगाडि  पुजा गरेको खुलाएका हुन्।

यसले फिल्म ह्यासट्याग मायाका तीन जना तन्त्रमन्त्रको अध्नविश्वासमा परेको देखिन्छन।*

निर्देशक गुरुङले फिल्मको सफलता अनि आर्थिक पक्षमा पनि राम्रो हुने भनेर दोलालघाट गएर मध्यरात १२ बजे दोलालघाटकै मसानघाटमा पूजा गरेको खुलाएका हुन्।*

उनले न्युजफिल्मीसँग कुरा गर्दै दोलालघाट गएर तीनै जनाले शिव मन्दिरमा पूजा गरेको, बेलुका आफू होटेलमा बसेको तर मध्यरात १२ बजे नम्रता र सारुक तान्त्रिकसँग मसानघाटमा गएर पूजा गरेर आएको बताएका छन्।

उनका अनुसार तान्त्रिकले उनलाई पहिलो पटक मसानघाटमा जाँदा समस्या पर्न सक्छ होटेलमै बस्नुस् भनेकाले आफू होटेलमा बसेको तर सारुक र नम्रता तान्त्रिकसँग मसानघाट गएर पूजा गरेर होटेलमा आएको बताएका हुन्।

तान्त्रिकलाई नम्रताले मेरो गुरुजी भनेर चिनाएको र फिल्मलाई राम्रै हुँदै जान्छ भनेपछि आफू सहमत भएको उनले खुलाएका छन्। उनको दाबी अनुसार सारुकले त्यस अगाडि पनि मसानघाट गएर तान्त्रिकसँग पुजा गरेका थिए।

तान्त्रिकलाई पूजा बापत पाँच लाख दिएको उनले खुलाएका छन्। तान्त्रिकले बुटी दिएपछि तीनै जनाले लगाएको र सारुकले आत्महत्या गरेपछि आफूले तीन दिन अगाडि बुटी फुकालेर फ्याकेको उनले न्युजफिल्मीसँगको कुराकानीमा स्वीकार गरेका छन्।

नम्रता र सारुकको सम्बन्ध निकै निकट रहेको, सारुक सधैँ नम्रताको सेवामा हाजिर हुने स्वभावको रहेको उनले बताए। नम्रताले के गरिन्, के खाइन्, उनी बिरामी हुँदा सारुकले रातभर हेरचाह गरेर बस्ने गरेको उनले बताए।

आत्महत्याको बिहानको दिन सुटिङ सेटमा भएको विवादबारे पनि उनले पुष्टि गरे। त्यो दिन नम्रता र सारुकबीचको रेप सिनको सुट रहेको र सुट सकिएपछि सारुक सिनबाट खुसी रहेको उनले सुनाए।

उनका अनुसार सारुकले अर्को सिनमा यसरी डायलग भन्छु भन्दै उनीसँग सल्लाह गरेका थिए। त्यसपछि वाइड सट लिएको  र सटपछि नम्रता र सारुक अर्को कोठामा गएर झगडा गरेको उनले बताए। कोठा लक गरेर नम्रताले सारुकलाई एकदम कराइरहेको आवाज बाहिरसम्मै आएको तर सारुक चुपचाप बसेको निर्देशक गुरुङले सुनाए।

'अर्को सुट रोय र नम्रताको थियो। हामी बाहिर कुरिरहेका थियौँ। कोठामा नम्रताजीले सारुकलाई कराइरहेकी थिइन्। सारुकको आवाज भने आएन,' उनले भनेका छन्' म तल आएँ। एक छिनमा माथि बार्दलीमा हेरेको सारुक चेयरमा बसेर टोलाइरहेका थिए।'

नम्रता र रोयको सट लिने बेलामा सारुक मनिटर अगाडि टोलाएर बसेको देखेपछि आफूले 'आर यु ओके' भनेर सोध्दा 'नट ओके' भनेको उनले बताए।

फिल्मको सुटिङ सकिएपछि प्याकअप गरेर घर गएको र भोलीपल्ट सारुकले आत्महत्या गरेको सुनेको उनले बताए।

नम्रता अहिले सम्पर्कमा नभएको र सारुक डिप्रेसनमा भएको भन्रे हावा कुरा भएको भन्दै उनी मानसिक रूपमा निकै बलियो रहेको र घटनाको कारण के हो भन्ने सार्वजनिक हुनुपर्ने उनले बताए।

नम्रताको आग्रहमा बुढानीलकण्ठमा घर

निर्देशक गुरुङका अनुसार बुढानीलकण्ठको घर नम्रताको आग्रहमा भाडामा लिएको हो। नम्रताले आफ्नो घर बाहिर नबसी क्यारेक्टरमा बस्न नसक्ने भनेपछि घर भाडामा लिएको र दैनिक योगा टिचर आएर उनलाई योगा सिकाउने गरेको उनले बताए।

फिल्म ह्यासट्याग मायाको अभिनय गर्दै गरेका अभिनेता सारुकले गत बिहीबार रातोपुलमा रहेको आफ्नो घरमा आत्महत्या गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

*संशोधन गरिएको।

सारुक आत्महत्या प्रकरण

असार ३०, २०८० शनिबार २२:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।