अभिनेता सारुक आत्महत्यासँग जोडिएको तीन अन्धविश्वास : कालो बुटी, बुढानीलकण्ठको सेतो घर अनि गाँजा

अभिनेता सारुक आत्महत्यासँग जोडिएको तीन अन्धविश्वास : कालो बुटी, बुढानीलकण्ठको सेतो घर अनि गाँजा
सारुक बस्दै आएको बुढानीलकण्ठको घर।

काठमाडौं : शनिबार बुढानीलकण्ठमा रहेको साढे दुई तल्ले घर अगाडि पुग्दा कोही थिएनन्। सेतो रङ्ग लगाएको घरको बाहिर केही राता कुर्सी बाहेक केही देखिएन। घरको गेटमा ताल्चा लागेको थियो।

यो घरको सम्बन्ध असार २१ गते आत्महत्या गरेका कलाकार सारुक ताम्राकारसँग जोडिएको छ। ३१ वर्षका सारुकले रातोपुलमा रहेको आफ्नो घरमा आत्महत्या गरेका थिए।

बुढानीलकण्ठको सेतो घर फिल्म ‘ह्यासट्याग माया’सँग जोडिएकाले त्यो घरमा केही तथ्य फेला पर्छ कि भन्ने आशले उकेराकर्मी बुढानीलकण्ठमा पुगे पनि घर बन्द भएकाले भित्र प्रवेश गर्न पाइएन। तर, केही महत्त्वपूर्ण तथ्यहरू भने जानकारीमा आयो। 

साढे दुई वर्ष अगाडि फिल्मको निर्माण टिमले मासिक एक लाख ५० हजार भाडा तिर्ने गरी लिएको यो घरको मालिक हुन् चर्चित पर्वतारोही निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’। बेलायती नागरिक पुर्जा नेपाल आउँदा होटेल मेरियटमा बस्ने गर्थे। उनले बुढानीलकण्ठमा समेत घर बनाएको यही घटनाले खुलायो। 

भाडामा लिइएको घरको भुईं तला फिल्म युनिटले कार्यालय प्रयोजनका लागि प्रयोग गरेको देखियो। स्थानीयका अनुसार घरमा कलाकारहरू आउने जाने गरिरहन्थे। घरमा नियमित पाँच जना बस्ने गरेको देखियो।

घरको पहिलो तलाका चार कोठामध्ये एक कोठा नम्रताले प्रयोग गर्ने गरेकी थिइन्। नजिकैको अर्को कोठामा कलाकार सारुक ताम्राकार बस्दै आएका थिए। तेस्रो कोठामा सोही फिल्मका अर्का कलाकार रोय श्रेष्ठ बस्ने गरेका थिए। चौथो कोठामा अन्य दुई महिला बस्थे।

माथिल्लो तलाको कोठालाई नायिका नम्रताले योगा र ध्यान गर्न प्रयोग गर्ने गरेको खुल्यो। सारुक करिब २ वर्षदेखि नै बुढानीलकण्ठको सोही घरमा बस्ने गरेका थिए। उनी र नम्रताबीच प्रेम सम्बन्ध थियो। यसबारे सारुकका परिवारका सदस्य समेत जानकार देखिए।

फिल्म निर्माण टिमले भाडामा लिएको बुढानीलकण्ठको घर जहाँ बस्दै आएका थिए सारुक।

सारुकले रातोपुलमा रहेको घरमा आत्महत्या गरेपछि उनी बस्दै आएको बुढानीलकण्ठको घरमा घटनासँग जोडिएको केही तथ्य फेला पर्छ कि भनेर सारुकको परिवार, फिल्म निर्माण टिमका सदस्य स्थानीय प्रहरी लिएर घरमा गएको खुल्यो।

सारुकले आत्महत्या गरेको रातोपुलको घरमा कुनै सुसाइड नोट फेला परेन। कतै बुढानीलकण्ठकै घरमा सुसाइड नोट लेखेर छाडेका छन् कि भन्ने शङ्काले सो घरमा जाँच गरिएको थियो। तर, घरमा आत्महत्यासँग जोडिएको केही तथ्य फेला परेन।

सारुकले बस्न प्रयोग गरेको कोठामा एक जोर महिलाको हिल फेला पर्यो। निर्माण टिमका सदस्यका अनुसार त्यो हिल अभिनेत्री नम्रताको थियो।

घरको बरन्डामा गाँजा बनाउन प्रयोग गरिने कागजको स्ट्रिप अनि टन्न सुकेको गाँजाका डाँठहरू फेला परेका थिए।

यसले सो घरमा बस्नेहरूले गाँजा खाने गरेको पुष्टि भयो। अभिनेत्री नम्रता गाँजाको अम्मली रहेको लुकेको तथ्य हैन। सारुकले गाँजा खान्थे या खाँदैनथे खुलेको छैन।

घरमा मदिराका बोतलहरू अनि अत्यधिक मात्रामा चुरोटका ठुटाहरू फेला परेका छन्। तर, सारुकको कोठामा सर्च गर्दा न सुसाइड नोट फेला पर्यो, न अन्य कुनै शङ्कास्पद प्रमाण। सारुकको कोठामा सिलाजित, प्रोटिन र सातु फेला परेको थियो। 

आत्महत्यासँग मानसिक स्वास्थ्य पनि जोडिएको हुन्छ नै। तर, बुढानीलकण्ठको कोठा अनि रातोपुलको उनको कोठामा समेत मानसिक स्वास्थ्यसँग जोडिएको न कुनै औषधि फेला परेको छ, न त कुनै चिकित्सकीय परामर्श लिएको कागजपत्र। यसले उनमा कुनै मानसिक समस्या नरहेको संकेत गरेको छ।

थप रहस्यमय बन्दै आत्महत्या
प्रारम्भमा सारुकको आत्महत्या एक युवामा आएको मानसिक विचलनको नतिजाको रूपमा देखिएको थियो। तर, खुल्दै गएका नयाँ तथ्यहरूले भने यो फिल्म ‘ह्यासट्याग माया’ अनि यसका कलाकारहरूसँगको सम्बन्धसँग समेत जोडिन पुग्यो।

आत्महत्या गर्नु अगाडिका घटनाक्रमले आत्महत्याको कारण सारुक र नम्रताबीचको सम्बन्धमा आएको खटपट देखायो।फिल्म निर्माण टिमका एक सदस्यका अनुसार असार २० गते बिहान चार बजेसम्म हात्तिगौंडामा रहेको फिल्म सुटिङस्थलमा सुटिङ भएको थियो।

अन्तिम सिन सारुकले नम्रतालाई बलात्कार गर्ने सम्बन्धी थियो। सिन गर्दा सारुकले केही लामो समय लगाएपछि दुवैबीच सुटिङस्थलमै खटपट भएको थियो।

खटपटपछि सारुक रातोपुलमा रहेको घरमा आएनन्, बुढानीलकण्ठमै गए। नम्रतासमेत सँगै थिइन्। उनीहरू घरको पहिलो तलाको कोठामा पुगेपछि झगडा परेको थियो। झगडाको विषय त्यही बलात्कारसम्बन्धी सिन लगायत रहेको युनिट टिमका ती सदस्यको दाबी छ।

सारुकले आत्महत्या गरेपछि निर्माण टिमले गेटमा ताल्चा लगाएर हिँडेका छन्।

झगडापछि नम्रता त्यही बसिन् भने सारुक त्यहाँबाट रातोपुलमा रहेको बाबुआमा बस्ने घरमा आए। उनी घरमा आउँदा आमाबाबु आफन्तको गएका थिए। उनीहरू जानु अगाडि सारुक आउने या नआउनेबारे फोनमा कुरा भएको सारुकको पारिवारिकस्रोतले उकेरालाई बतायो।

उनले आफू पनि आउने बताएका थिए। तर आएनन्। आउँछु भनेको छोरा नआएपछि उनको बाबु सानु ताम्राकारले सारुकलाई फोन गरे।

करिब सात बजेतिर फोन गर्दा उनको मोबाइल उठेन। त्यसपछि उनले नम्रतालाई फोन गरेर ‘सारुक त्यता हो?’ भनेर सोधेका थिए। नम्रताले दिउँसो २-३ बजे नै हिँडेको बताएपछि घरमै होला भनेर चुप बसे।

परिवारका सदस्य बेलुका करिब १० बजेतिर घर आइपुगे। सारुकको गाडी घरबाहिरै थियो। उनको परिवारका सदस्यका अनुसार कतै बाहिर जानेगरी सारुक घर आए गाडी घर बाहिरै राख्ने गर्थे।

कतै नजाने भए घरको कम्पाउन्डभित्रै गाडी राख्ने उनले घर बाहिर गाडी पार्क गरेकाले घरमा आउँदा भोजमा जाने मनस्थितिसहित आएको देखिन्छ। तर, उनी गएनन्।

परिवारका सदस्य घरमा आएर ढोका खोल्न खोज्दा खुलेन। भित्रबाट बार लगाइएको थियो। बार खोल्न खोज्दा सम्भव भएन। एक सहयोगी भर्याङबाट घरभित्र जाँदा सारुक भर्याङमा झुन्डिएको देखे। उनले परिवारका सदस्यलाई भने अनि तल आएर ढोका खोले। परिवारले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए।

सारुकले आत्महत्या गरेको उनका साथीभाइले जानकारी पाएपछि शुभचिन्तक घरमा आउन थाले। नम्रता अनि रोय श्रेष्ठ पनि त्यही बेलुका रातोपुलमा रहेको सारुकको घरमा पुगेका थिए। 

दोलालघाटमा तान्त्रिक पूजाको अन्धविश्वास*
सारुकको आत्महत्या तन्त्रमन्त्रको अन्धविश्वाससँग* समेत जोडियो। करिब सात महिना अगाडि एक जना तान्त्रिकसहित नम्रता, सारुक र फिल्मका निर्देशक राजीव गुरुङ दोलालघाट गएर तन्त्र पुजा गरेको पुष्टी भएको छ। 

उनीहरूले चालकलाई बिचबाटै फर्काएर एक होटेलमा बसे। अनि नम्रता र सारुक तान्त्रिकसँग नजिकैको मन्दिर जाने भनेर होटेलबाट निस्किए। निर्देशक होटेलमै बसेका थिए।

फिल्म ह्यासट्याग मायाको मूर्हतमा रोय, नम्रता अनि सारुक।

उनीहरूले बली दिने भनेर बोको समेत लगेका थिए। होटेलमा फर्कँदा बली दिएको बोकासहित फर्किए। बोको त्यही होटेलमा पकाएर प्रसाद भन्दै खाए।

ग्रह राम्रो हुन्छ भनेर निर्देशक गुरुङलाई तान्त्रिकले बुटी दिएकी थिइन्। उनले त्यो बुटी लगाए। सारुकले आत्महत्या गरेपछि उनको गलामा पनि त्यस्तै बुटी फेला पर्यो। यसले सारुकको आत्महत्याको घटना तन्त्रविद्याको अन्धविश्वाससँग समेत गएर जोडिएको देखियो। 

परिवारको सामान्य उजुरी, तर किटानी परेन
सारुकको परिवारका सदस्यले घटनाकै दिन मालिगाउँमा रहेको प्रहरी कार्यालयमा घटना खुलाएर सामान्य निवेदन दिएको खुल्यो।

उनीहरूले सारुक घरमा मृत फेला परेकाले घटना के कसो हो सोबारे अनुसन्धान गरी पाउँ भनेर निवेदन दिएको देखियो।

प्रहरीले घरमा मुचुल्का उठाएर थप छानबिनका लागि सारुकले प्रयोग गर्ने मोबाइल लगेर फरेन्सिक विभाग पठाएको खुल्यो। तर, अहिलेसम्म प्रहरीले यस घटनामा कोही कसैलाई बोलाएर सोधपुछ गरेको खुलेको छैन।

शनिबार उकेराको सम्पर्कमा आएका सारुकको परिवारका एक सदस्यका अनुसार प्रहरीले आफूहरू अनुसन्धानमै रहेको बताउँदै १४ दिनको किरियाकर्म सकिएपछि प्रहरी कार्यालयमा आउन भनेका छन्।

सारुकको परिवार तत्काल आत्महत्याको कारक कसैलाई तोकिहाल्ने अवस्थामा देखिएनन्। नम्रता र सारुकको सम्बन्धबारे परिवार पनि जानकार रहेकाले कतै सम्बन्धमा आएको खटपटकै कारण आत्महत्या गरेको हो कि भन्ने शंकामा भने देखिए।

तर बुटी अनि तन्त्रविद्या समेत जोडिएपछि भने उनीहरू प्रहरीले विस्तृत अनुसन्धान गरिदियोस् भन्ने आशमा छन्।

‘हाम्रो परिवारको सदस्यले किन आत्महत्या गर्यो, त्यो कारण त थाहा पाउनु हाम्रो अधिकार हो नि!’, शनिबार सारुकको परिवारको एक सदस्यले उकेरासँग भने।

यस विषयमा फिल्मका व्यवस्थापक अनि नम्रताको धारणा बुझ्न सम्पर्क गर्ने प्रयास गर्दा सफल भएन। नम्रता सम्पर्कहीन छिन्। 

* संशोधन गरिएको।

सारुक आत्महत्या प्रकरण

असार ३०, २०८० शनिबार २०:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।