डा. उत्तमको उपचार अनुभव : ८१ वर्षीय बाजेले भने- ‘डाक्टर अप्रेसन गर्देऊ, मर्नै परे बरु तिम्रै हातबाट मरौँला’
वीर अस्पतालमा कार्यरत डा. उत्तम पच्या जनरल प्राक्टिसनर हुन्। उनको चिकित्सकीय विधा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन हो। जसलाई एमडीजीपी पनि भनिन्छ।
सबै किसिमका रोगको प्राथमिक रूपमा पहिचान गरी सक्ने किसिमका उपचार आफैँ गर्ने अनि रोगको जटिलता अनुसार विशेषज्ञ चिकित्सककहाँ बिरामीलाई रिफर गर्नु उनको दैनिकी हो। उनै डा. उत्तमले चिकित्सकीय पेशाको सिलसिलामा देखे/भोगको अनुभव उकेरासँग साटे।
‘एनेस्थेसिया दिनेबित्तिकै ती गर्भवतीको बोली हरायो अनि मुटुको धड्कन बन्द भयो’
२०७७ तिरको प्रसङ्ग हुनुपर्छ। दशैंको अष्टमीको दिन थियो। सुत्केरी ब्यथाले च्यापेपछि करिब २७ वर्षकी महिलालाई गुल्मी जिल्ला अस्पताल पुर्याइयो। घरमा सुत्केरी हुन नसकेपछि उनलाई अस्पताल ल्याइएको रहेछ।
तुरुन्तै शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने अवस्था देखियो। अस्पताल प्रमुख समेत रहेका डा. उत्तम नेतृत्वको चिकित्सकको टोलीले कत्ति पनि ढिलो नगरी शल्यक्रियाको तयार भयो।
शल्यक्रियाका लागि छातीभन्दा तलको भाग मात्रै लठ्याउनेगरी सुईमार्फत ढाडमा एनेस्थेसिया औषधि दिइयो। एनेस्थेसिया दिनासाथ बोल्दाबोल्दै महिलाको बोली हराउँदै गयो। महिला बोल्नै छाडिन्। करिब–करिब पूर्ण रूपमा नै महिलाको धड्कन बन्द भयो। बेहोसी अवस्थामा भएकी महिला करिब मृत्युको मुखैमा पुगिन्।
त्यसपछि हतार–हतार डा. उत्तमले हातैले ती महिलाको छातीमा थिचेर सीपीआर गर्न थाले। मुटुको धड्कन फर्काउनका लागि आकस्मिक रूपमा दिनुपर्ने औषधि दिइयो। महिलालाई बचाउने आशा झिनो मात्रै बाँकी थियो। त्यसैले महिलालाई बचाउने प्रयास गर्दै शल्यक्रिया गरी बच्चालाई निकाल्ने काम पनि एकसाथ गर्यो चिकित्सकको टिमले।
सामान्यतया बच्चालाई बचाउन सकिएन भने पनि आमालाई त बचाउनुपर्छ भनेर आमाको जीवन बचाउन चिकित्सक केन्द्रीत हुने चलन हुन्छ।
तर, ती महिलाको सवालमा भने चिकित्सकको टिमका अगाडि आमालाई बचाउन सकिएन भने पनि बच्चा त बचाउनुपर्छ भन्ने अवस्था निम्तियो। किनकी मुटुको धड्कन रोकिएर रक्तसञ्चालन नहुँदा गर्भको बच्चाको मृत्यु हुने जोखिम थियो।
चिकित्सकको अथक प्रयासपछि महिलाको मुटुको धड्कन फर्कन सुरु भएको संकेत मिल्यो। त्यही अवस्थामा हत्तपत्त गरेर चिकित्सकको टिमले शल्यक्रिया गरी बच्चा निकाल्यो।
महिलाको स्वास्थ्यमा सुधार हुँदै गयो। धन्य। चिकित्सकको टिम आमा र बच्चा दुवैलाई बचाउन सफल भयो। एनेस्थेसियाको औषधिको साइडइफेक्ट स्वरूप मुटुको धड्कन नचलेको रहेछ। एनेस्थेसियाको यस्तो असर बिरलै हुने उनले सुनाए।
‘मृत्युको मुखमा पुगेकी महिलालाई फर्काएपछि साथीभाइहरूसँग खुसियाली साटासाट गरेको प्रसङ्ग कहिल्यै भुल्दिनँ,’ उनले भने।
‘तपाईं साच्चै डाक्टर हो र?’
त्यसो त पहिलोपटक भेट्ने धरैजसोले डा. उत्तमलाई डाक्टर भनेर पत्याउँदैनन् रे। यसो हेर्दाखेरी डाक्टरको जस्तो व्यक्तित्व नदेखिने भएकाले आफूलाई धेरैले डाक्टर भनेर नपत्याउने गरेको उनले अनुभूति सुनाए।
त्यसैले त उनी आफैँले आफैँलाई ‘बान्की नमिलेको डाक्टर’का रूपमा चिनाउँछन्।
करिब सात वर्षअघि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (एमडीजीपी) विषय अध्ययनपछि ताप्लेजुङ्गको जिल्ला अस्पतालमा पुगेका थिए डा. उत्तम। पाँचथरको स्वास्थ्य कार्यालय प्रमुखमा उनकै साथी थिए। एक दिन ती साथीले बिरामीको हर्नियाको शल्यक्रिया गर्नका लागि डा. उत्तमलाई पनि बोलाएछन्। डा. उत्तम पाँचथर पुगे।
शल्यक्रियापछि साथीसँग उनी अस्पताल बाहिर निस्किए। अस्पतालमा घुम्दै एकजना डिएसपी पनि पुगेछन्। प्रहरी कार्यालय र स्वास्थ्य कार्यालय नजिकै भएकाले गफगाफ गर्दै ती डिएसपी चिया पिउन स्वास्थ्य कार्यालय पुगेका रहेछन्। ती डिएसपी प्रहरीको पोशाकमा नै थिए।
साथीले डिएसपीलाई ‘ऊ चाहिँ मेरो साथी’ भनेर उत्तमलाई पनि डिएसपीसँग परिचय गराएछन्। डिएसपीले यसो हेरेछन्। अनि मुखै खोलेर उत्तमलाई भनेछन्, ‘तपाइँ त डाक्टर जस्तो देखिनुहुन्न नि!’
तर, डिएसपीले त्यस्तो भन्दा उनलाई अनौठो लागनेछ। ती डिएसपी अघि पनि उनलाई धेरैले यस्तो भनिसकेका थिए।
क्यामेरा चलाउन खुब मनपर्छ डा. उत्तमलाई। केही वर्षअघि साथीको विवाहमा चिवतन जन्ती गए। गाडीमा समेत भिडियो र फोटो खिच्थे उनी। गाडीमा चिनेकाले उनलाई ‘डाक्टर साप’ भनेर बोलाउँथे।
बेहुलाका मामालाई साँच्चैको डाक्टर हो की हैन भनेर साह्रै कौतुहलता लागेछ। त्यसपछि ती मामाले उत्तमलाई मलेखुतिर पुगेपछि सोधेछन्, ‘तपाइँ साँच्चिकै डाक्टर हो?’
त्यसपछि उत्तमले पनि हाँस्दै भनेछन्, ‘हो, म एमबीबीएस डाक्टर हो’ भन्दै जवाफ दिएछन्।
सित्तैमा उपचार नगर्ने ती महिलाको खुर्सानी उपहार
त्यसैगरी केही वर्षअघि रोल्पामा स्वास्थ्य शिविरमा काम गर्दाको एउटा प्रसङ्ग पनि डा. उत्तम कहिल्यै भुल्दैनन्। शिविरमा चिकित्सकको टिमले आङ खसेकी एकजना महिलाको निःशुल्क उपचार गर्यो।
उपचार गरको ३/४ दिनपछि ती महिला पुनः डा. उत्तमले बिरामीको उपचार गरिरहेको शिविरमा नै पुगिन्। ती महिलाले प्लाष्टिको झोलामा एक झोला लाम्चो किसिमको पाकेको खुर्सानी कोशेली ल्याएर डा. उत्तमलाई दिइन्। उनले कोशेली पर्दैन, लानुहोस् भने।
तर, ती महिलाल मानिनन् र भनिन्, ‘मैले कसैको केही पनि सित्तैमा लिएको छैन। तपाईंको उपचार पनि म सित्तैमा लिन्नँ। मसँग पैसा छैन, पैसाको सट्टा यो खुर्सानी लिनुस्।’
महिलाको त्यो अनुरोध डा. उत्तमले नकार्न सकेनन् र खुर्सानी लिए। करिब एक किलो खुर्सानी खाएको उनले सुनाए।
८१ वर्षीय बाजेले भने, ‘मेरो अप्रेसन गर्देऊ, मर्नै परे बरु तिम्रै हातबाट मरौँला’
गुल्मी जिल्ला अस्पतलमा काम गर्दाको अर्को प्रसङ्ग पनि डा. उत्तम कहिल्यै भुल्दैनन्।
केही वर्षअघि अस्पतालमा करिब ८१ वर्षका बाजे पुगे। ती बाजे उत्तमकै गाउँले थिए। बाजेलाई धेरै वर्षदेखि हर्नियाको समस्या रहेछ। हर्नियाको कारण उनी हैरान भएका रैछन्। हर्नियाकै कारण आन्द्रै बाहिरै निस्कने अवस्थासमेत थियो।
ती बाजेले अस्पताल आएर हर्नियाको समस्याबारे बताउँदै डा. उत्तमलाई भनेछन्, ‘मेरो यस्तो समस्या छ, तिमीले अप्रेशन गरिदिनुपर्यो।’
त्यसपछि डा. उत्तमले ती बाजेलाई ‘८१ वर्ष पुगेकाले शल्यक्रिया नगर्दा पनि हुन्छ’ भन्ने जवाफ दिए। उत्तमको कुरा सुनेपछि भने ती बाजेले भनेछन्, ‘रोगले मेरो ज्यान खाने भयो। अप्रेशन गरिदेऊ, मर्नै परे बरु तिम्रै हातबाट मरौंला।’
ती बाजेले रोगको पीडा सहन नसकी शल्यक्रिया सफल भएन भने पनि बरु मरौंला भन्दै चिकित्सकप्रति विश्वास गरेको देख्दा डा. उत्तमको मन छोयो र शल्यक्रिया गर्ने निर्णय गरे।
सबै तयारीपछि बाजेको शल्यक्रिया भयो। नभन्दै शल्यक्रिया पनि सफल भयो। शल्यक्रियापछि बाजे ठिक भएर अस्पतालबाट डिस्चार्ज भए। उनको अहिले पनि ती बाजेसँग बेला–बेलामा भेट हुन्छ।
भेटमा बाजे खुसी हुँदै गफगाफ गर्छन्। बाजेले विश्वास गरेको र शल्यक्रिया सफल भएको त्यो प्रसंग सम्झँदा अझै डा. उत्तमलाई आनन्द लाग्छ।
गुल्मी अस्पतालमा पहिलो पटक अस्पतालकै कर्मचारीको शल्यक्रिया
त्यसो त ताप्लेजुङ्ग जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस, हर्निया जस्ता समस्याको शल्यक्रिया गरिसकेका उनले डा. उत्तमले गुल्मी अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिस, हर्नियाको शल्यक्रिया सुरु गरे।
करिब पाँच वर्षअघि गुल्मी अस्पतालमै का मगर्ने करिब ३५ वर्षकी महिला कर्मचारीको पेट दुखेछ। परीक्षण गर्दा एपेन्डिसाईटिस भएको थाहा भयो। डा. उत्तमले शल्यक्रिया गर्न सुझाव दिए।
त्यसपछि उनले भनेछन्, ‘मैले नै एपेन्डिसाइटिसको शल्यक्रिया त धेरै पटक गरिसकेको छु। तर, हाम्रो अस्पतालमा पहिलो पटक यस्तो शल्यक्रिया गर्नुपर्ने हुन्छ, विस्वास लाग्छ भने म नै शल्यक्रिया गरिदिन्छु, नत्र अन्त रिफर गर्नुपर्ने हुन्छ।’
त्यसपछि ती महिलाले परिवारसँग सल्लाह गरेर जिल्ला अस्पतालमै शल्यक्रिय गर्ने निर्णयमा पुगेछन्। सबै तयारीपछि डा. उत्तमको टिमले ति महिलाको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्यो।
त्यो शल्यक्रिया सफल भएपछि गुल्मीमा आफ्नो निक्कै चर्चा भएको डा. उत्तमले सुनाए।
छात्रवृत्तिमा डाक्टरी अध्ययन, ठाउँ-ठाउँमा काम
उत्तम २०३६ मा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१४ मा जन्मिएका हुन्। उनले सात कक्षासम्म स्थानीय विद्यालयमा पढे। सदरमुकामको अर्जुन आवासिय माविबाट २०५२ मा एसएलसी गरेका उनले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आईएससी गरे।
डाक्टर बन्न रहर गरेका उत्तमले छात्रवृति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट भएर त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसबाट २०६३ मा एमबीबीएस सके।
एमबीबीएसपछि डा. उत्तम कामको खोजीमा लागे। उनले धादिङ्गको मलेखुस्थित ‘राजमार्ग सामुदायिक अस्पताल’मा काम पाए। त्यहाँ उनी काम गर्न पुगे। त्यहाँ केही समय काम गरे। त्यसपछि काठमाडौंमा फर्केर उनले चाबहिलस्थित हेल्पिङ्ग ह्याण्ड अस्पतालमा काम गर्न थाले।
त्यहाँ केही समय काम गरेपछि उनी मर्लिन नामक संस्थाको जागिरे भए। त्यो संस्थामार्फत उत्तम स्वास्थ्य शिविर गर्न रोल्पातर्फ लागे।
रोल्पामा उनको काम स्वास्थ्य शिविरमा गएर विशेषगरी आङ्ग खसेका महिलाहरूको रोगको पहिचान (स्कृनिङ) गर्ने काम हुन्थ्यो। हाइड्रोसिल, हर्नियाजस्ता रोगको पहिचान गरिन्थ्यो। हाइड्रोसिल, हर्निया जस्ता सम्भव हुने उपचार त्यहिँ हुन्थ्यो।
रोल्पामा रोगको पहिचान गरिसकेपछि त्यहाँ सम्भव नहुने उपचार गर्न निःशुल्क उपचारका लागि नेपालगञ्जमा पठाइन्थ्यो। त्यसपछि डा. उत्तमले सन् २०१० बाट विश्वस्वास्थ्य संगठनको इम्युनाइजेशन कार्यक्रममा करिब दुई वर्ष काम गरे।
डा. उत्तमलाई थप अध्ययन गर्नु छँदैथ्यो। डा. उत्तमले २०६९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा ‘जनरल प्राक्टिस’ विषयमा स्नातकोत्तर तहको एमडी अध्ययनका लागि भर्ना भए र २०७२ एमडी अध्ययन सके।
ताप्लेजुङ्ग र गुल्मिपछि वीरमा काम
एमडी अध्ययनपछि डा. उत्तम ताप्लेजुङ्गको जिल्ला अस्पतालमा करार जागिरेको रूपमा काम गर्न पुगे। ताप्लेजुङ्गमा दुई वर्ष काम गरेपछि उनी गृह जिल्ला गुल्मी पुगे।
सरकारी स्थायी चिकित्सकका लागि दिएको लोकसेवा परीक्षामा नवौं तहमा कन्सल्टेण्ट मेडिकल जनरलिष्टका रूपमा २०७५मा जागिरे भए।
सरकारी स्थायी चिकित्सक भएपछि डा. उत्तमको गुल्मी जिल्ला अस्पतालमै पोष्टिङ भयो। सरकारी स्थायी चिकित्सक भएपछि साढे चार वर्ष र एक वर्ष करारमा गरी डा. उत्तमले गुल्मीमा करिब साढे पाँच वर्ष काम गरे।
त्यसपछि पाँच महिनाअघि माघमा डा. उत्तम वीर अस्पताल आएका हुन्। उनी वीर अस्पतालको जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागमा कार्यरत छन्।
विशेषगरी वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका बिरामीको औषधि उपचार गर्नु तथा आवश्यकता अनुसार उपचार व्यवस्थापन गर्नु उनको दैनिकी हो। दशौं तहका डा. उत्तम अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्टका रूपमा कार्यरत छन्।
असार ३०, २०८० शनिबार २०:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।