कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग

कोशी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग

काठमाडौं : एमालेले कोशी प्रदेश सरकार तत्काल भंग गर्न माग गरेको छ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले असंवैधानिक रूपमा गठन भएको भन्दै कोशी प्रदेश सरकार तत्काल भंग गर्न माग गरेको हो।

साथै उसले नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया शुरू गर्न आग्रह गर्यो।

‘कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको छ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए।

सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

एमालेको केन्द्रीय सचिवालय बैठकले पनि सरकार गठनमा सभामुखको संलग्नता लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार ठहर गरेको छ।

प्रदेश प्रमुखको निर्णयको विरुद्धमा एमालेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न सरकारलाई आदेश दिएको छ भने यो मुद्दामा  ७ साउनदेखि निरन्तर सुनुवाइ हुने भनिएको छ।

संविधानले कहीँ पनि सभामुखको पक्षधरताको कल्पना नगरेको भन्दै एमालेले कोशीको सरकार गठन प्रक्रियामा सहभागिताको भर्त्सना गरेको छ।

उसले भनेको छ, ‘सरकार गठन गर्ने वा हटाउने सम्बन्धमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मान्यता, एवं हाम्रो आफ्नो लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो।’

असार ३०, २०८० शनिबार १९:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।