सिद्धबाबा धामलाई दिएको पैसामा पुजारी र कर्मचारीको रजाइँ, फर्जी रसिद बनाएर आधा रकम घोटाला

सिद्धबाबा धामलाई दिएको पैसामा पुजारी र कर्मचारीको रजाइँ, फर्जी रसिद बनाएर आधा रकम घोटाला

बुटवल : बुटवल–३ मा रहेको सिद्धबाबा धाम विकास समितिमा दाताले दिएको आधा रकम फर्जी रसिद बनाएर व्यक्तिले घोटाला  गरेको खुलासा भएको छ।

धाममा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएसँगै धाममा भइरहेको आर्थिक अनियमितता उदाङ्गो भएको हो।

सिद्धबाबा धाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा समेत उजुरी परेको छ। 

बुटवल-३ स्थित तल्लो सिद्धबाबाको नामले परिचित धाम विकास समिति विवाह, व्रतबन्ध तथा विभिन्न धार्मिक कार्यहरुका लागि चर्चित छ। धाम विकास समितिले यस्ता कार्यहरु गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ। 

यही चर्चित धाम अहिले भने आर्थिक अनियमितताको अखडा बनेको छ। लामो समयदेखि धाम विकास समितिको अध्यक्ष रहँदै आएका कृष्ण प्रसाद तिमिल्सेनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको आरोप लगाइएको छ।

समितिको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकमभन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको रसिद अहिले भेटिएको छ। सार्वजनिक भएका रसिदमा दातालाई दिने रकम र धामले राख्ने अर्धकट्टीमा फरक फरक रकम उल्लेख छ। 

भेटिएका रसिदहरुमा १ हजार ५ र १ हजार १ सय ५ रुपैयाँ लिएको उल्लेख गरिएको छ। तर तिनै रसिदका दानकर्तालाई दिएको छायाँप्रति रसिदमा भने ५ सय ५ रुपैयाँ लेखिएको छ। 

२०७९ साल असार २२ गते सैनामैना-४ रुपन्देहीका कुमार कार्कीले धाम विकास समितिलाई रसिद काटेरै १ हजार १ सय ५ रुपैयाँ बुझाए पनि सोही रसिदको छायाँप्रति रसिदमा भने ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ।

त्यस्तै गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्का र मंसिर २८ गते बुटवल ११ की गंगा रायमाझीले पनि रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ प्रदान गरेका थिए। 

तर गंगा र तिला कुमारीलाई दिइएका रसिदका छायाँप्रति रसिदमा पनि ५ सय ५ रुपैयाँ मात्र उल्लेख गरिएको छ। 

यस विषयमा धामका काम चलाउ अध्यक्ष तिमिल्सेनाले भने आफूलाई फसाउन र बदनाम गर्नका लागि २/३ महिना अघिको घटनालाई पुनः चर्चामा ल्याएको बताए।

‘अध्यक्ष हुन खोजेका तर नपाएका केहीले घटनालाई फेरी चर्चामा ल्याएका हुन्। यो घटना पुरानो हो। यस बारेमा छानबिन गर्दा हामीले २ जनालाई कामबाट समेत निकालेका छौं,’ उनले भने।

उनले जिल्ला प्रशासन कार्यालयमा यस बारे उजुरी परेपछि धामले छानबिन गरेको र यसमा विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीको संलग्नता देखिएपछि दुवैलाई निलम्बन गरेको बताए।

‘पुजारी भुवनका छोरा विकासले रसिद काट्ने गरेको उनका अक्षरबाट पनि प्रष्ट भयो। उनलाई स्पष्टीकरण सोध्दा रसिद आफूले काटेको तर रकम आफूले नलेखेको बताए। बुझ्दा तारनाथको पनि संलग्नता भेटिएपछि उनलाई निलम्बन गरेका हौं,’ उनले भने। 

उनले यो घटना सुनियोजित ढंगले गरेको र पछि धाम विकास समितिले बाँकी रसिदका ठेली हेर्दा कुनै पनि ठेलीमा कमजोरी नभएको बताए। 

विगत २५ वर्षदेखि मन्दिर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका पूर्व अध्यक्ष लवकुश श्रेष्ठले घटनाले आफूलाई समेत लज्जित बनाएको बताए। आफ्नो कार्यकाल सकिएपछि विगत ४ वर्षदेखि मन्दिर व्यवस्थापनका बारेमा आफूलाई जानकारी नभए पनि मन्दिर भित्र हुने अनियमित गतिविधिले आफूलाई दुःखी बनाएको उनको भनाइ छ।

पछिल्लो समय धाम विकास समितिमा विवाद उत्पन्न भएपछि नेतृत्व चयन समेत हुन सकेको छैन। गत मंसिरमा नेतृत्व चयन हुनुपर्ने भए पनि अधिवेशनमा सहमति नजुटेपछि काम चलाउ अध्यक्षको जिम्मेवारी कृष्ण प्रसाद तिमिल्सेनाले नै सम्हाल्दै आएका छन्। 

असार ३०, २०८० शनिबार १८:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।