नयाँ दलप्रति अर्थमन्त्रीको टिप्पणी- हामी गर्छौं भनेर आएका छन्, केही गर्दैनन्

नयाँ दलप्रति अर्थमन्त्रीको टिप्पणी- हामी गर्छौं भनेर आएका छन्, केही गर्दैनन्

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू धेरै समय नटिक्ने बताएका छन्।

शनिबार तमु संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री महतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलतर्फ संकेत गर्दै उनीहरू लामो समय टिक्न नसक्ने बताएका हुन्।

‘अहिले नयाँ-नयाँ प्रवृत्तिहरू आइरहेका छन्। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्,’ उनले भने, ‘हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस।’

मन्त्री महतले लोकतन्त्र बलियो नभएको बताउँदै त्यसका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए।

‘यी नयाँ प्रवृत्तिहरू देखिएका छन् उनीहरूले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला। नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो भइसकेको छैन,’ उनले थपे, ‘यसलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्छ। सबै जातजाति मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्छ।’

असार ३०, २०८० शनिबार १७:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।