मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौंको कलंकीबाट शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको बागमती गाउँपालिका-३ घर भई हाल काठमाडौंको स्वयम्भू ठूलोभर्याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ घर भई ठूलोभर्याङ नै बस्ने २५ वर्षीय बुद्धबहादुर वाइबालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले शंकास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकल सहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो।

उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्धबहादुर वाइबाबाट लिएको भन्ने खुलेपछि वाइबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकलसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका-२ घर भई हाल ललितपुरको ग्वार्को बस्ने निकेशकुमार साहले ग्वार्कोस्थित पार्किङस्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधबार चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूनै संलग्न रहेको खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

योसँगै आर्थिक वर्ष २०७९/८० मा चोरीका ३४ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ।

असार ३०, २०८० शनिबार १५:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।