पहिला मिडिया भनेपछि रमाइलो लाग्थ्यो, अहिले बन्दुक तेर्स्याए जस्तो लाग्छ : दीपाश्री निरौला
काठमाडौं : निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफूलाई अहिले पत्रकार देख्यो कि डर लाग्न थालेको बताएकी छन्।
शुक्रबार चलचित्र पत्रकार संघले आयोजना गरेको ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ नामक अन्तरक्रियात्मक कार्यक्रममा उनले यो कुरा बताएकी हुन्।
‘पहिला पहिला मिडिया भनेपछि एकदमै रमाइलो लाग्थ्यो, अहिले बन्दुक तेर्स्याए जस्तो लाग्छ,’ उनले भनिन्, ‘पछिल्लो समय निकै कम इन्टरभ्युमा जाने गर्छु। अहिलेको समय देखिहाल्नु भएको छ। एउटा मात्र सञ्जाल छैन। ती सञ्जालले गर्दाखेरि मान्छेबाट गल्ती हुँदा मलजल हालेर मान्छेलाई मर्न बाध्य बनाउँछ।’
पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गरेको अनुभव सेयर गर्दै उनले मिडिया अहिले विकाउमा लागेको बताइन्।
उनले भनिन्, ‘पहिले अन्तर्वार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो। अहिले लुकाउन मन लाग्छ। यसैले, मिडियाले सत्य तथ्य बुझेर लेखिदिए हामीलाई बाँच्न सजिलो हुन्थ्यो।’
तीन वर्षअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उनको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
उनले आफूले सानो गल्ती बोल्दाखेरि व्यापक आलोचना सहनु परेको र सोही कुरालाई लिएर आफूले पछिल्लो समय अन्तवार्ता दिनका लागि सचेत रहेको आशय व्यक्त गरिन्।
अभिनेत्री केकी अधिकारीले भने पछिल्लो समय समाचारमा विश्वसनीयताको खाँचो परेको बताइन्। उनले सामाजिक सञ्जालमा आएका कुरा र मिडियामा आएका कुरामा फरक हुनुपर्नेमा जोड दिइन्।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियामा गलत समाचार सम्प्रेषणले कलाकारलाई हतोत्साही बताउने गरेको तर्क गरे।
‘कहिलेकाही पूर्वाग्राही ढंगले कलम चलाइदिनुहुन्छ। विश्वसनीयताले ठाउँ पाए हामीलाई न्याय हुने थियो,’ उनले भने, ‘युट्युबकारिताले अतिरञ्जित हेडलाइन राख्ने गरेको पाइन्छ, भ्यूजको लागि हो कि।’
पत्रकार तथा निर्देशक फुलमान बलले भने नेपालमा समीक्षा गर्न लायकका फिल्म नै बन्न नसकेको बताए। हप्तामा दुईवटा फिल्मको समीक्षा आउनुपर्नेमा ६ महिनामा समीक्षा आउने गरेको बताए।
उनले फिल्मको समीक्षालाई लिएर फिल्मकर्मीले टाउको दुखाउनुपर्ने अवस्था नरहेको र फिल्म निर्माणकर्मी सिरियस नभएको आरोप लगाए।
उनले भने,‘हामीले फिल्मको बहस गरेनौ भने,अब नेपाली फिल्म इन्डस्ट्री सुध्रने अवस्था छैन।’
फिल्म हिट भएपनि छक्का पञ्जा टिमले समीक्षाको विषयलाई लिएर बेला बेलामा आक्रोश पोख्दै आएको थियो। अभिनेता दीपकराज गिरीले फिल्म चले पनि समीक्षा गतिलो नभएको भन्दै सामाजिक सञ्जालमार्फत नै समीक्षकमाथि प्रश्न उठाउने गरेका थिए।
बलले हलिउड, बलिउड र कोरियन फिल्मको उदाहरण दिंदै हाम्रा फिल्मको स्तर निकै तल रहेको बताए। त्यो तुलनामा पुग्न सरकारले ऐन परिवर्तन नगरेसम्म नेपाली फिल्म उद्योगले फड्को मार्न नसक्ने पनि उनले दाबी गरे।
असार ३०, २०८० शनिबार १२:५२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।