साथीहरूको साथ पाए संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिरहन्छु : गगन थापा

साथीहरूको साथ पाए संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिरहन्छु : गगन थापा

मोरङ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। 

उनले भने, ‘म त दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोसिस हुन्छ। साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ।’

उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे। 

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।

कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने पनि उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।

असार ३०, २०८० शनिबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।