जैसवालको डेब्यू टेस्टमै १७१ रन, भारतसँग वेस्ट इन्डिजको लज्जास्पद हार
एजेन्सी : भारतले पहिलो टेस्ट खेलमा वेस्ट इन्डिजलाई एक इनिङ र १४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
डेब्यू टेस्ट खेलमै यशस्वी जैसवालको शतक र रविचन्द्रन आश्विनको सानदार बलिङको कारण कुनै समयको महारथी टेस्ट टिम वेस्ट इन्डिज भारत सामु तेस्रो दिन नै पराजित भयो।
२७१ रनको लक्ष्य पुरा गर्न दोस्रो इनिङमा मैदानमा उत्रेको वेस्ट इन्डिज मात्र १३० रनमा अल आउट भयो। वेस्ट इन्डिजका लागि एलिक एथानाजेले सर्वाधिक २८ रन बनाए।
वेस्ट इन्डिजलाई ध्वस्त पार्न भारतका स्पिनर रविचन्द्रन आश्विनले ७ विकेट लिए। उनले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए।
पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज १५० रनमा अल आउट भएको थियो। भारतले भने पहिलो इनिङमा ५ विकेटको क्षतिमा ४२१ रन बनाउँदा इनिङ डिक्लिएर गरेको थियो।
जसका लागि डेब्यू खेलमा यशस्वी जैसवालले सानदार शतक हाने। उनले ३८७ बलमा १६ चौका र १ छक्कासहित १७१ रन बनाएका थिए।
त्यस्तै रोहित शर्माले पनि १०३ रनको शतकीय पारि खेल्दा विराट कोहलीले ७६ रन बनाएका थिए।
असार ३०, २०८० शनिबार १२:०१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।