उत्तरपुस्तिका सच्याएर छोरीलाई लोकसेवा पास गराउने शाखा अधिकृतलाई ६ महिना जेल

उत्तरपुस्तिका सच्याएर छोरीलाई लोकसेवा पास गराउने शाखा अधिकृतलाई ६ महिना जेल

काठमाडौँः उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारूको इजलासले उनलाई सजाय र जरिवाना हुने आदेश दिएको हो। 

नेपाल वायुसेवा निगमको परीक्षामा सहभागी भएकी छोरीको उत्तरपुस्तिकमा सच्याएर शाहीले पास गराएका थिए। 

उक्त समयमा शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए।

उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो (खरिदार सरहको) परीक्षा दिएकी थिइन्। उनले वस्तुगत प्रश्नका सबै (५० वटा) प्रश्नहरू मिलाएकी थिइन्।

यसबारे थाहा पाएपछि लोक सेवा आयोगको एउटा कार्यदल बनाएर छोरीको उत्तरपुस्तिका जाँच्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएको थियो। 

प्रयोगशालाले वस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो। प्रतिवेदनपछि आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो।

लोकसेवाले अधिकृत शाहीलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गरेको थियो। यसबारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

३० असार, २०८०, ०८:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।