अभिनेता सारुक प्रकरण : सुटिङमा बलात्कारको सिनमा अभिनेत्री नम्रतासँग ‘झगडा’, बेलुका आत्महत्या

अभिनेता सारुक प्रकरण : सुटिङमा बलात्कारको सिनमा अभिनेत्री नम्रतासँग ‘झगडा’, बेलुका आत्महत्या

काठमाडौं : अभिनेता सारुक ताम्राकारको आत्महत्याको घटनाले प्रहरी अनुसन्धानमा प्राथमिकता पाएको छैन। घटनास्थलको अवस्था र सुसाइड नोट नभएकाले घटनाको कारणसम्म पुग्नुपर्ने बाध्यता छैन प्रहरीमा।

अर्को सजिलो पक्ष सारुकको परिवारले छोराको आत्महत्यामा शङ्का गरेर छानबिनको माग गर्दै निवेदन समेत दिएका छन्।*

प्रहरीले सारुकको मोबाइलमा अनुसन्धान गर्नै पर्ने केही फेला पर्छ कि भनेर फरेन्सिक विभागमा पठाएको छ।अनि पोस्टमार्टम प्रतिवेदनको पर्खाइमा छ। तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको मुड बुझ्दा ‘आफैँ मरेको त हो, सक्कियो’ को बुझाइ देखियो।

सारुक आत्महत्या घटनामा प्रहरी जति शान्त देखिएको छ नेपाली रङ्ग क्षेत्रभित्र भने बिस्तारै हलचल बढाइरहेको छ। सामाजिक सञ्जालमा सारुकलाई आत्महत्या गर्न बाध्य बनाउनेको खोजी भइरहेको त छ नै प्रश्नहरू पनि उठ्दै गइरहेका छन्।

अनि प्रश्न उठाउनेहरू समाजमा राम्रै प्रभाव पार्न सक्ने कलाकारहरू नै हुन्।

पहिलो प्रश्नकर्ता देखिइन् अभिनेत्री मलिना जोशी। सारुकको आत्महत्यापछि उनले सामाजिक सञ्जालमा राखेको तस्बिरहरूले उनी सारुकको मित्रता कति आत्मीय थियो भन्ने देखाउँछ।

उनी बुढानीलकण्ठको इस्कोन मन्दिर पुगेर सारुकको तस्बिर राखेर प्रार्थना गरिरहेको भिडियो समेत राखेकी छिन्। सँगै उनले सारुकको आत्महत्या घटनामाथि प्रश्न समेत उठाएकी छिन्।

'उनलाई यस्तो गर्न कसले प्रेरित गर्यो?, उनको अन्तिम दिनमा उनीसँग को थियो?, अन्तिम कुराकानी के भएको थियो?, अन्तिम कल कसको थियो?, उनले आफ्ना नजिकका महिला साथीहरूसँग किन सम्बन्ध तोडेका थिए?, उसलाई कसैले अभद्र व्यवहार गरेको थियो?' यस्ता प्रश्नै प्रश्न छ उनको इन्टाग्रामको स्टोरीमा।

प्रश्नहरूसँगै उनले त्यसको उत्तर जान्न पाउनुपर्ने भन्दै सारुक आत्महत्या घटनाको पूर्ण अनुसन्धानको माग समेत गरेकी छिन्। अनि सारुकलाई के भएर उनले आत्महत्याको बाटो रोजे भन्ने प्रश्नको उत्तर राज्यसँग मागेकी छिन्।

मलिनाको यही प्रश्नहरू अर्की चर्चित अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो इन्टाग्रामको स्टोरीमा सेयर गरेर प्रश्नहरूप्रति आफ्नो समर्थन जनाएकी छिन्। सारुकको तस्बिरमुनि अनगिन्ती प्रश्न र आशंकाहरु छन् जसको निराकरण प्रहरीको पूर्ण अनुसन्धानले मात्र दिन सक्छ।

मलिना वा स्वस्तिमा मात्र हैन सारुकको इन्ट्राग्राममा रहेको अन्तिम तस्बिरमा आएका प्रतिक्रिया हेर्ने हो भने अधिकांशले उनको आत्महत्यालाई दुरुत्साहनको दृष्टिकोणबाट हेरेर अनुसन्धानको माग गरिरहेका छन्। अनि दुरुत्साहनमा संलग्नको सङ्केत पनि गरिरहेका छन्। 

२२ अङ्कसँग जोडिएको आत्महत्या संयोग

२०७८ चैत २० मा भारतको सिक्किम र नेपालमा छायाङ्कन गर्ने गरी फिल्म ‘ग्रहण’ को घोषणा गरियो। घोषणा सिक्किममै गरिएको थियो। फिल्मको अभिनेत्री नम्रता श्रेष्ठ अनि अभिनेतामा विनय श्रेष्ठ र सारुक ताम्राकार। राजीव गुरुङ निर्देशक।

तर फिल्मको निर्माणको काम अगाडि बढेन। एकाएक फिल्मबाट विनय बाहिरिएर अर्का कलाकार रोय श्रेष्ठ भित्रिए। २०८० वैशाख २२ मा ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा ‘ह्यासट्याग माया’को नाममा यही फिल्मको मुहूर्त गरियो।

२०८० जेठ २२ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट छायाङ्कन सुरु गरियो।

फिल्मको कार्यकारी निर्माता अनुप पौडेलको नाम सार्वजनिक भयो। थ्रीलर विधामा बन्ने फिल्ममा नम्रता र सारुकसँगै रोय, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेल लगायतका अनुबन्ध भए।

शर्मिला थापाको निर्माण अनि रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा बन्ने फिल्मको बजेट पाँच करोड भएको दाबी गरियो।

फिल्म फ्लोरमा गएको ४५ दिनमा छायाङ्कन सक्काउने निर्माण टिमको तयारी थियो। तर सम्भव भएन। तोकिएको समयमा करिब ३० प्रतिशत मात्र छायाङ्कन सम्भव भयो। असार २२ गते बिहानै सारुकले आत्महत्या गरेको समाचार बाहिरियो। 

'ग्रहण', 'ह्यासट्याग माया' हुँदै आत्महत्या !

सारुक दुई वर्षदेखि फिल्म निर्माण टिमसँग जोडिएका थिए। पहिला नम्रता र सारुक अनुबन्ध भएपछि नै सारुक घर बाहिर बस्न थाले। उनको बास बुढानीलकण्ठमा सुरु भयो।

जानकारका अनुसार बुढानीलकण्ठमा फिल्म निर्माणका लागि भन्दै निर्माण टिमले फ्ल्याट लिएको थियो। त्यहाँ फिल्मबारे छलफल त हुन्थ्यो नै। मुख्य कलाकार नम्रता र सारुक त्यही बस्थे। उनीहरुको सम्बन्ध लिभिङ टुगेदरको तहमा रहेको फिल्म निर्माण टिमका एक सदस्यले दाबी गरे।

नाम बदलिएर विनय बाहिरिएसँगै रोय श्रेष्ठ अभिनेताको रूपमा भित्रिए। फिल्मको निर्माण प्रक्रियाबारे जानकारस्रोतका अनुसार रोय फिल्ममा अनुबन्ध भएदेखि नै सारुक र नम्रताबिच खटपट शुरु भयो। फिल्मको छायाँकन अगाडि बढेसँगै दुबैको खटपटको गति पनि बढ्यो।

खटपट बढ्दै गएपछि सारुक बुढानीलकण्ठको फ्ल्याटमा भन्दा घरमा परिवारका साथ बस्न थालेका थिए। रातोपुलको घरमै उनले आत्महत्या गरे।

रेप सिनले बढाएको विवाद

असार २०* गते फिल्मको नियमित सेड्युल अनुसारै सुटिङ सुरु भयो। अन्य सिनसँग त्यो दिन बलात्कारको एक सिन पनि थियो। स्क्रिप्ट अनुसार नम्रतासँगको त्यो सिन पहिला अर्कै कलाकारसँग खिच्नुपर्नेमा उनले सारुकसँग कम्फर्टेवल हुने भन्दै पात्र बदल्न लगाएकी थिइन्।

जानकारस्रोतका अनुसार सिन टेबलमा रेप गरेको खिच्नुपर्ने थियो। निजात्मक सिन फिलसँगै खिच्नेक्रममा सिन केही लामो भएको थियो। त्योबिचमा नम्रताले सारुकलाई चिमोटेकी थिइन्। सिन खिच्ने काम सकिएपछि बिहान बुढानिलकन्ठ गए।*

कोठामा दुबैजनाबीच त्यही सिनलाई लिएर विवाद भयो। सुटिङको काम पनि सकिइसकेको थियो। विवादपछि सारुक बिहान रातोपुलमा रहेको आफ्नो घर फर्किए।

लाउड म्युजिक र चार वटा बियरको बोतल

उनको आमा-बाबु आफन्तको भोजमा गएका थिए। उनी पनि त्यही भोजमा सहभागी हुनुपर्ने थियो। परिवारका सदस्यलाई आउँछु पनि भनेका थिए। तर गएनन्।

उनका छिमेकीका अनुसार त्यो दिन सारुकको घरबाट लाउड म्युजिकको आवाज आएको थियो। उनको परिवार घरमा फर्किएपछि सारुक झुन्डिएको अवस्थामा फेला परे। उनको कोठामा चार वटा रेडबुल निलोको बोतल फेला परेको थियो।*

उनको बाबु सानु ताम्राकार परिचित कलाकार। उनीबाटै प्रभावित भएर उनी कला क्षेत्रमा आएका थिए। तर उनको रुचि भने फिल्म निर्देशनमा थियो। उनले निर्देशक साम्तेन भुटियाको फिल्म ‘त्यान्द्रो’मा ‘असिस्टेन्ट डाइरेक्टर’ का रूपमा काम पनि गरेका थिए।

सात वर्ष अगाडि उनलाई फिल्मको प्रस्ताव आयो 'रानी' अभिनेता शिव श्रेष्ठका भतिज मनिष श्रेष्ठले पनि यही फिल्मबाट डेब्यु गर्दै थिए। निर्देशक थिए दयाराम दाहाल।

रानी फ्लप भयो। सारुकको अभिनय यात्रा भने रोकिएन। त्यसपछि उनी ‘मेरी मामु’ मा बुबाको भूमिकामा देखिए। अनि ‘इन्टु मिन्टु लन्डनमा’ अभिनय गरे। ह्याट्याग माया उनको चौथो फिल्म थियो। उनको अभिनय यात्रा लामै जान सक्थ्यो। तर यही फिल्म उनको जीवनको अन्तिम बन्यो।

उनी अस्ताए तर प्रश्नहरू छाडेर।

अभिनेत्री मलिनाले उठाएको प्रश्नको उत्तर दिने जिम्मेवारी राज्यको हो। र त्यही प्रश्नको उत्तरले नै बुझाउन सक्नेछ ३१ वर्षको उमेरमा करिअर बन्दै गरेको एक युवा कलाकारले किन आत्महत्याको बाटो रोजे।

*संशोधन गरिएको।

सारुक आत्महत्या प्रकरण

असार २९, २०८० शुक्रबार २२:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।