भुटानीलाई जापानमा छात्रवृत्ति

भुटानीलाई जापानमा छात्रवृत्ति

एजेन्सी : जापानले पहिलो पटक दुईजना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ।

ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने नयाँदिल्लीस्थित जापानी राजदूतावासले जानकारी दिएको हो।

भुटानले जापानको स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग त्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पनि गरेको छ।

भुटान बाहेकका दक्षिण एसियाली देशलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको जापानले यसपटक थिम्पुलाई पनि सहायताको सूचीमा यसपटक समावेश गरेको हो।

शैक्षिक आदानप्रदान र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिने जापान सरकारको नीतिअनुसार भुटानी विद्यार्थीहरूका लागि मात्र छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ।

छात्रवृत्ति कार्यक्रमले जापान र भुटानबीचको सांस्कृतिक समझदारी प्रवर्द्धनका साथै भुटान र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर–सांस्कृतिक संवाद र सहयोगलाई बढावा दिने भुटानको विश्वास छ।

भुटानले आफ्नो स्वास्थ्य सेवा क्षेत्रको विकासलाई प्राथमिकता दिएकामा त्यसको प्रशंसा गर्दै जापान सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

असार २९, २०८० शुक्रबार २१:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।