टेलिकमले ल्यायो समर अफर, उही मूल्यमा १० जीबीसम्म डाटा थप
काठमाडौं : नेपाल टेलिकमले असार २९ देखि लागू हुनेगरी समर अफर उपलब्ध गराएको छ। यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ।
त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत पाँच सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र आठ सयमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ।
त्यसैगरी प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो दुई सय रूपैयाँ ९९ प्याकमा एक सय ५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको सट्टा चार जीबी डाटा उपलब्ध हुनेछ।
टेलिकमले सजिलो अनलिमिटेड सात सय ९९ रुपैयाँको प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल पनि उपलब्ध गराउने भएको छ।
मेसिन टु मेसिन (एम टु एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ। त्यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ।
कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ। साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युसेज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ।
समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।
त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।
असार २९, २०८० शुक्रबार २१:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।