खर्च देखाउनकै लागि फाइभस्टारमा गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी

खर्च देखाउनकै लागि फाइभस्टारमा गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

मन्त्री मोदीले कार्य सम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तरक्रियामा भने आफू उपस्थित हुने बताए।

उनले भने, ‘सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तरक्रियामा म आउँछु। तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तरक्रियामा म आउँदिन।’

खर्च भएको देखाउनकै लागि कर्मचारीहरू असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाइ थियो।

‘असार मसान्तको समय छ, कर्मचारीहरू अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन्। कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन’, उनले भने।

वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, ‘वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ।’

मन्त्री मोदीले वैदशिक सहायतालाई लक्षित वर्गसम्म पुर्याउन जरुरी भएको समेत बताएका छन्। लक्षित वर्गसम्म वैदेशिक सहायताको रकम पुग्न नसक्ने कार्यक्रमको लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाइ थियो।

असार २९, २०८० शुक्रबार २०:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।