मध्यमधार : कान्छो छोरोबाट कान्छी छोरी हुँदा फर्किएको रुबिनाको खुसी
काठमाडौं : सन् २०१८ मा थाइल्याण्डको एउटा हस्पिटलमा रुबिना भुजेलको नयाँ जन्म भयो। उनलाई थाहा भएसम्म उनी त्यसअघि कहिल्यै पनि त्यति धेरै खुशी भएकी थिइनन्।
त्यस दिनदेखि उनी ‘केटा जस्तै’ भएर हिंडिराख्न परेन। मानसिक रुपमा त पहिले नै महिला थिइन् उनी, त्यस दिनदेखि उनी शारीरिक रुपमा पनि सधैंको लागि महिला भइन्। तेस्रो लिंगी महिला।
होसमा आइसके पनि ‘एनेस्थेसिया’ले लठ्ठिएको उनको शरीरको सबैभन्दा मन नपर्ने अंग हटिसकेको कारण आँखाबाट खुशीको आँसु खसेको भने उनले चाल पाइन्। लगत्तै डाक्टरले दिएको सल्लाह, सुझाव, परामर्श उनको लागि वरदान भन्दा कम भएन।
‘मैले जिउन चाहेको जिन्दगी यही हो। पुरानो म मरिसकें। त्यसमा म कहिल्यै पनि फर्किन चाहन्न। त्यो पुरानो अंगहरु पनि म बाट टाढा भइसके,’ खुशीका साथ रुविनाले सुनाइन्।
झापा, दमकमा दुईजना दिदीपछि जन्मेकी थिइन् उनी, कान्छो छोराको रुपमा। तर, अहिले भने उनी कान्छी छोरीको रुपमा चिनिइसकेकी छन्।
मलाई केटी साथीहरुले छुँदा केही लाग्दैनथ्यो। तर, केटा साथीहरुले झुक्किएर मात्र छुँदा पनि सिरिङ्ग हुन्थ्यो। त्यसबेला नि ओहो भन्ने भन्ने त लाग्थ्यो।
कान्छो छोराबाट कान्छी छोरी हुनको लागि उनलाई त्यति सहज भने भएन। सानैदेखि उनी केटीहरुसँग मात्र खेल्थिन्। भाँडाकुटी खेल्ने, ममी र दिदीको लुगा लगाएर नाच्ने, मेकअप गरेर ऐना हेरेर लजाउने गर्थिन् उनी।
सबै साथीले चुरा, मेहेन्दी लगाउँदा उनलाई पनि लगाउन मन लाग्थ्यो। उनले कहिल्यै पनि आफू फरक भन्ने नै सोचिनन्।
उनको हाउभाउ देखेर ममीले भन्ने गरेको ‘तँ केटा नै होइनस् होला। तँ त्यस्तो पो होला। भोलि गएर यसले नाक काट्ने भयो’ भन्ने कुराहरु सुन्थिन् उनी।
जति ठूलो हुँदै गयो उनले आफू फरक भएको भन्ने कुरा थाहा पाउँदै गइन्। केटा र केटीले गर्ने, लगाउने सबै कुरा फरक हुने रहेछ भन्ने ज्ञान हुँदै गयो। ‘एक दिन चैं घरमा मेकअप गरेर केटीको लुगा लगाउँदा ममीले काँइयोले हातमा रगत निस्किने बेलासम्म पिट्नु भएको थियो के। त्यो म जिन्दगीभर भुल्न सक्दिनँ,’ उनी भावुक सुनिइन्।
त्यही बेला हो उनले ‘आफू त ‘छोरा’ पो रहेछ, यो सब त छोरीले पो गर्ने कुरा रहेछ’ भनेर थाहा पाएको।
‘मलाई केटी साथीहरुले छुँदा केही लाग्दैनथ्यो। तर, केटा साथीहरुले झुक्किएर मात्र छुँदा पनि सिरिङ्ग हुन्थ्यो। त्यसबेला नि ओहो भन्ने भन्ने त लाग्थ्यो,’ उनले भनिन्। स्कुलको कार्यक्रमहरुमा पनि भाग लिँदा उनी केटीकै लुगा लगाएर नाच्ने गर्थे। १२ कक्षासम्म उनले त्यति धेरै हेय भने भोग्न परेन।
पहिचान खुल्दै गर्दा चुकाउनु परेको मूल्य
तर, जब उनी झन् झन् खुल्दै गइन्, तब उनले भोग्ने पीडाहरु पनि बढ्दै गयो। त्यसले गर्दा उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्। कुनै ठाउँमा काम गर्न जाँदा पनि काम पाइनन् । एसएलसी सकेपछि निल हिरा समाजमा आफू जस्तै धेरै मान्छे हुने उनले थाहा पाइन्।
त्यही भएर उनी दमककै निल हिरा समाजमा जान थालिन्। त्यहाँ उनले आफू जस्तो धेरै साथीहरु देखिन्। आफ्नो कुराहरु भन्न थालिन्। काठमाडौंमा झन् धेरै साथीहरु भएको र त्यहाँ आफ्नो कुरा राख्न झन् सजिलो हुने थाहा पाएसँगै उनले यहाँ आउने योजना पनि बनाइन्।
१२ कक्षा सकेपछि उनले घरमा आफ्नो बारेमा भनिन्। आमाले बुझ्न नमाने पनि घरमा त्यसै बेला ठूलो बुवाको छोरा आएको कारण उनलाई सहज भयो। उनको ठूलो बुवाको छोरा विदेशमा बस्थे। त्यहाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय धेरै अगाडि बढेको पनि उनले थाहा पाए।
शरीर र मन फरक भएको थाहा भएदेखि नै उनलाई महिलामा परिवर्तन हुन मन भइसकेको थियो। त्यही सपना बोकेर उनी काठमाडौं आइन्। यहाँ आएपछि निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङसँग उनको भेट भयो। यसपछि उनले ‘सर्जरी’को कुराहरू पनि थाहा पाइन्।
सर्जरी गर्न जति धेरै खर्च लाग्छ त्यति नै मानसिक रुपमा पनि बलियो हुनपर्छ। अनि उनले आफूलाई यसका लागि तयार गरिन्। सानोतिनो कुराले उनलाई फरक पार्न छाड्यो। करिब ६ वर्ष सम्म उनी घर पनि गइनन्।
घरमा केटीको लुगा लगाएर बसे पनि बाहिर भने उनी त्यसरी हिंड्न सक्थिनन्। कसैले देख्ला कि भनेर लुकी लुकी आफ्नो पहिचान दबाउन पर्थ्यो।
उनले यौन व्यवसाय गर्न थालिन्। तर ‘सजिलो’ भनिएको काम गर्न उनलाई धेरै नै गाह्रो भयो। बिना कारण प्रहरीले पक्राउ गर्ने त भइ नै हाल्यो, ग्राहकहरुको हिंसाको सिकारसम्म भएकी छन् उनी।
तर, यहाँ आएपछि उनी पिंजडाबाट भर्खरै निस्केको पन्छी जस्तै भइन् उनी। महिला भएर हिंड्न उनलाई संकोच लागेन। तर, जब जब आफ्नो शरीरलाई हेर्थे तब उनलाई शरीर भने आफ्नो होइन भन्ने लागिरहन्थ्यो।
त्यही भएर उनले आफ्नो शरीर नै बदल्ने सोचिन्। त्यसको लागि धेरै खर्च चाहिएको थियो। तर घरमा माग्न सकिनन्। अनि पैसा कमाउनको लागि सबै भन्दा ‘सजिलो’ भनिएको काम उनले गर्न थालिन्।
राम्री हुनको लागि अंगालेको कामले दाँत नै भाँचियो
उनले यौन व्यवसाय गर्न थालिन्। तर ‘सजिलो’ भनिएको काम गर्न उनलाई धेरै नै गाह्रो भयो। बिना कारण प्रहरीले पक्राउ गर्ने त भइ नै हाल्यो, ग्राहकहरुको हिंसाको सिकारसम्म भएकी छन् उनी।
आफू ‘राम्री’ हुनको लागि यो काममा लागेकी उनको ग्राहकले पिटेर दाँत पनि भाँचियो। तर, त्यो ग्राहकलाई कसले कारबाही गर्ने? उनी चुपचाप आफ्नो काम गर्थिन्। कुनैले भने काम सकेपछि पैसा समेत फिर्ता लाने गरेको पनि उनको अनुभव छ।
धेरै ठाउँमा त महिला भनेर बोलाएको ‘छक्का पो रहेछ’, ‘हिजडा पो रहेछ’ भन्ने सम्मको शब्दहरु उनले सुनिन्। तेस्रो लिंगी भनेर धेरै ग्राहक फर्किएर पनि जान्थे रे। अनि कोही भने तेस्रो लिंगी महिला नै चाहिएको भन्दै पनि आउने गर्थे रे।
‘मलाई त ९५ प्रतिशत पुरुषहरु त ‘बाइसेक्सुअल’ हो कि जस्तो पनि लाग्छ,’ उनले हाँस्दै सुनाइन्, ‘किनभने उनीहरुले महिलासँग त यौनसम्बन्ध राख्ने नै भए, तेस्रो लिंगी महिला अनि पुरुषसँगको सम्बन्धको पनि अनुभव गरौं भन्ने हुँदो रहेछ।’
यस समुदायका सबैजना यौनकर्मी नै हुन्छन् भन्ने हैन। यौन व्यवसाय गर्नेमा महिला र पुरुषहरु जत्ति पनि छन्। तर प्रहरीको नजरमा भने सधैं यस समुदायका व्यक्तिहरु परेको उनले अनुभव गरेकी छन्।
‘तपाईंहरुको साथीले चोर्यो, लुट्यो, यस्तो गर्यो, उस्तो गर्यो भन्छन्। जसको चोरिएको भनिएको हो त्यो आफैंले भने केही भनिरहेको हुँदैन। अनि हाम्रो साथीहरुले सजाय भोग्नुपर्छ,’ उनले भनिन्, ‘मलाई पनि एक रात त्यत्तिकै थुनिएको छ। किन थुनियो भन्ने अहिलेसम्म थाहा छैन। त्यो मेरो जिन्दगीको कालो रात हो।’
सर्जरीको लागि उनले दुई वर्ष पर्खिनुपर्यो। ‘मेरो परिवार फेरि त्यस्तो सम्भ्रान्त पनि हैन। आफ्नो लागि आफैं गर्छु भनेर घरबाट हिंडेको म। यौनकर्मी हुनुपर्यो, पैसा कमाउनुपर्यो अनि मात्र सर्जरी गर्न सकें,’ उनले भन्दै गइन्, ‘म यसलाई राम्रो नि भन्दिनँ, नराम्रो पनि भन्दिनँ। किनभने आफ्नो शरीर बेचेर, कमाएर खानु राम्रो कि चोरेर, लुटेर खानु राम्रो?’
धन्न मेरो दाइले नगरपालिकाको मान्छे चिन्नुभएको भएर सजिलो भयो। नत्र मेरो साथीहरुलाई त नागरिकता बनाउन जाँदा पनि लुगा खोल्न लगाएको भन्ने सुनेको छु।
सर्जरी पश्चात् उनले यो पेसा पनि छोडिदिइन्। आफ्नो ‘फेमिनाइन’ बढाउनको लागि हार्मोनहरु खाइन्। ‘किनभने अंग परिवर्तन भए पनि पूर्ण रुपमा केटी जस्तै देखिन त्यो खानैपर्यो।’ त्यसपछि उनको बोली सुमधुर हुन थाल्यो। हातको नसाहरु देखिन छोड्यो। रौहरु कम हुँदै गयो। अनि स्तन पनि देखिन थाल्यो।
‘आफ्नो खुशीको अगाडि हर्मोनको असर केही होइन’
हर्मोन खाएपछि यसको प्रभावले उनी कहिले मोटाउने कहिले दुब्लाउने भयो। हर्मोन सन्तुलन नहुँदा बेला बेला ज्वरो आउने, पानी धेरै खानुपर्ने, कमजोरी महसुस हुने उनलाई भइरहन्छ।
जाडोको बेला उनी धेरै जाडो सहन सक्दिनन्। अनि गर्मीको बेला धेरै गर्मी पनि सहन सक्दिनन्। स्वास नै फुलेर आउने जस्तो हुने उनी बताउँछिन्। हर्मोनले पछिसम्म गर्ने असरको बारेमा थाहा पाए पनि उनी आफूले चाहेको जस्तो पहिचान पाएको भनेर चित्त बुझाउँछिन्। खुशी हुन्छिन्।
अहिले उनी आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्छिन्। काठमाडौं आएदेखि सर्जरीसम्मको यात्राले गर्दा उनले पढ्न पाएकी थिइनन्। यतै पढ्ने सोच्न नबनाएको पनि होइन। तर, यहाँको विश्वविद्यालयहरू लैंगिक तथा अल्पसंख्यक मैत्री नभएको कारण विदेशमै पढाइ पुरा गर्ने उनी बताउँछिन्।
‘यदि म यहाँ जोइन भइहाले भने पनि त्यति ध्यान दिन सक्दिन होला। पढाइमा फोकस गर्न सक्दिन होला। किनभने बाहिर भनेको बाहिर नै हो। त्यहाँ हामी मैत्री पनि हुन्छ। झन् बढी फोकस गर्न सक्छु र सहज पनि होला,’ उनले भनिन्।
उनको नागरिकता भने पुरुषकै रुपमा छ। अब मिल्यो भने ‘तेस्रो लिंगी महिला’ भनेर नागरिकता लिन मन छ उनलाई। तर, त्यो प्रक्रिया झन्झटिलो हुने र काम पनि नबन्ने भएको कारण उनी पुरुषकै नागरिकता लिएर हिंडिरहेकी छन्।
बाहिर जाने प्रक्रियाकै लागि नगरपालिका जाँदा उनसँग ‘मेडिकल सर्टिफिकेट’ मागियो। ‘आफै उपस्थित भए पनि चाहिन्छ र!’ भन्दा उनको कुरा मानेनन्।
ठूलो बिजनेस गर्न मन छ। एउटा ठूलो होटल खोल्ने इच्छा छ। जसमा गार्डदेखि लिएर म्यानेजर, सीईओसम्म सबै तहमा हाम्रै समुदायका साथीहरुले काम गरून्।
‘धन्न मेरो दाइले नगरपालिकाको मान्छे चिन्नुभएको भएर सजिलो भयो। नत्र मेरो साथीहरुलाई त नागरिकता बनाउन जाँदा पनि लुगा खोल्न लगाएको भन्ने सुनेको छु,’ उनले भनिन्।
उनको हाल केही समयदेखि पार्टनर पनि छन्। पार्टनरको सबै परिवार विदेशमै भएको कारण स्वीकार्न सहज भएको उनले बताइन्।
‘उसको परिवार सबै बाहिर छ। मेरै लागि भनेर उ नेपाल बसेको हो। उ पनि त्यहाँ गयो भने उसले मलाई के को आधारमा लाने त? त्यसको लागि त म उसको श्रीमती हुनुपर्यो, जुन कानुनले सहजै मान्दैन। त्यसै भएर उसले पहिला तिमीलाई पठाउँछु अनि मात्र म जान्छु भनेको छ।’
‘आफू सक्षम भएर यस समुदायको लागि रोजगारीको अवसर सिर्जना गर्नुछ’
बिहे र बच्चाको इच्छा त उनलाई सानैदेखि नै थियो। बच्चाको लागि अहिले धेरै विकल्पहरु छन्। तर, अहिले भने उनले तत्काल आफ्नो पढाइ र करिअरलाई फोकस गर्ने सोच बनाएकी छन्। ‘अझै मेरो धेरै इच्छा छ। त्यो सब पुरा गर्छु। टन्न पैसा जम्मा गर्छु अनि मात्र बिहे गर्छु,’ उनले भनिन्।
‘मलाई धेरै नै पढ्न मन छ। यस समुदायको लागि पनि काम गर्न मन छ। हाम्रो समुदायका धेरै मान्छेहरु बेरोजगार छन्। उनीहरुले काम गर्न चाहे पनि पाउँदैनन्। म डिग्री पास गरेपछि तेस्रो लिंगी दिदी बहिनीहरुको लागि रोजगारको अवसर सिर्जना गर्न चाहन्छु। बाध्य भएर यौनकर्मी भएकाहरुलाई त्यसबाट छुटाउन चाहन्छु,’ उनले थपिन्।
‘ठूलो बिजनेस गर्न मन छ। एउटा ठूलो होटल खोल्ने इच्छा छ। जसमा गार्डदेखि लिएर म्यानेजर, सीईओसम्म सबै तहमा हाम्रै समुदायका साथीहरुले काम गरून्। आशा गर्छु मेरो इच्छा पुरा हुने छ,’ उनले भन्दै गइन्, ‘अन्त्यमा हाम्रो समाज यस्तै नै छ। यौनकर्मी भन्ने बित्तिकै नराम्रो भन्छन्। उहाँहरुलाई त्यस्तो दुर्व्यवहार नगरिदिनु। उहाँहरुले त्यो गर्नुको पछाडि पनि धेरै कुराहरु हुन्छन्। तपाईंहरु मान्नुस् नमान्नुस्, उहाँहरुले गर्दा रेपको केस अझ बढी भएको छैन। अनि यस समुदायको साथीहरुलाई माया गरिदिनुस्।’
मध्यमधारका सामाग्री
असार २९, २०८० शुक्रबार १७:५२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।