‘टप अर्डर’ नचल्दा सोमपालले बचाए नेपालको इनिङ, पाकिस्तानलाई १८० रनको लक्ष्य
काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानी फास्ट बलिङको अगाडि नेपाली ‘टप अर्डर’ ब्याटिङ ध्वस्त हुँदा सोमपाल कामीले इनिङ बचाएका छन्।
प्रमुख ब्याटर टिक्न नसेकेको खेलमा बलर सोमपाल कामीको अर्धशतकको मद्दतमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ। कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा जारी खेलमा नेपालले ३७ ओभरमा अल आउट हुँदै १७९ रन जोड्यो।
पाकिस्तान ए विरुद्ध नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले १०१ बलमा एक चौका र दुई छक्को सहयोगमा ७५ रनको योगदान दिए। उनले ७७ बलमा अर्धशतक बनाए।
कुनै बेला ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालको इनिङ उनकै कारण १५० रन पार गर्न सफल भयो। ‘टप अर्डर’ नचल्दा फास्ट बलिङले नेपाली इनिङलाई ध्वस्त पारेको थियो। धन्न सोमपाल र प्रतिशले सम्हाले।
७२ रनमा ८ विकेट गुमाइसकेको नेपालको इनिङलाई केही माथि उकास्न सोमपाल कामी र प्रतिश जीशीले नवौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए।
प्रतिशले २४ बलमा एक चौका र दुई छक्को सहयोगमा २६ रन जोडेका थिए। शीर्षक्रम चलेको भए नेपालको स्कोर सम्मानजनक अवस्थामा पुग्न सक्थ्यो।
यसैगरी ललित राजवंशीसँग मिलेर सोमपालले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे। जसमा ललितको रन मात्र १ थियो।
पाकिस्तान ए टिमका लागि सिनियर टिमबाट पनि खेल्दै आएका फास्ट बलर दाहानीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए।
यी दुई फास्ट बलरका सामु नेपालको माथिल्लो क्रमका कुनै पनि ब्याटर टिक्न सकेनन्। निकै खराब सुरुवात गरेको नेपालले १० ओभरमा मात्र ३९ रनमा ६ विकेट गुमाइसकेको थियो।
नेपालका ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड हुँदा आसिफ शेख १२ रनमा आउट भए।
यसपछि कप्तान रोहित पौडेल ४ रन र अर्जुन साउद १७ रनमा पेभिलियन फर्किँदा भीम सार्की डक आउट भए। पवन सर्राफले भने १ रन जोडे।
यसपछि कुशल मल्लले १७ र गुल्शन झाले १३ रन जोड्दै नेपालको इनिङलाई केही उकास्ने प्रयास गरेका थिए। जसलाई सोमपाल र प्रतिशले निरन्तरता दिए।
असार २९, २०८० शुक्रबार १३:१८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।