सरकारले फिल्म स्टुडियो बनाउन बनेपामा जग्गा दिने, बोर्ड अध्यक्ष भन्छन् : यो फिल्मकर्मीको जित हो
काठमाडौं। नेपाल सरकारले फिल्म छायाङ्कनका लागि इन्डोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डलाई जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
चलचित्र विकास बोर्डलाई काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ को जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिने भएको हो।
बिहीबार मन्त्रिपरिषद्को निर्णयले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय गरेको छ। यो निर्णयपछि बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले सम्पूर्ण नेपाली फिल्मकर्मीको जित भएको बताए।
सरकारको यो निर्णयले आफू निकै खुसी भएको र नेपाली फिल्म क्षेत्रले निकै फड्को मार्ने उनले विश्वास व्यक्त गरे।
‘सरकारको यो निर्णयले आज म निकै खुसी भएको छु। नेपाली फिल्म क्षेत्रले नयाँ फड्को मार्न सक्छ भन्ने विश्वास समेत मैले लिएको छु,’ उनले भने, ‘म चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएदेखि नै इन्डोर छायाङ्कन स्टुडियोको लागि सरकारसँग कुरा गरेको थिए। मैले यसका लागि जुन मेहनत गरें। त्यो आज प्राप्त भएको छ।’
उनले आफ्नो कार्यकालको एक प्रमुख कामको रुपमा अत्याधुनिक स्टुडियो निर्माणका लागि पटक पटक पहल गरेको दाबी गरे।
यो जग्गा भ्रमण गरी र वन मन्त्रालयसहित सम्बन्धित विभिन्न निकायहरूसँग कयौं पटक छलफल गरेको उनले बताए।
उनले बनेपामा मात्रै नभइ दोलखामा बन्दै गरेको स्टुडियोका लागि पनि आफूले पहल गरिरहेको र सरकार यस कुरामा सकारात्मक रहेको बताए।
असार २९, २०८० शुक्रबार १२:०३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।