बंगलादेशका गुलाम सरवर सार्कका महासचिव

बंगलादेशका गुलाम सरवर सार्कका महासचिव

काठमाडौँः बंगलादेशका कूटनीतिज्ञ मोहम्मद गुलाम सरवर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिवमा नियुक्त भएका छन्।

बंगलादेश सरकारले बिहीबार उनको नियुक्तिको घोषणा गरेको हो।

बंगलादेशको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो विज्ञप्तिमा उनले सरवर उत्तराधिकारीको सूचीमा पन्ध्रौं स्थानमा रहेको बताए।

योसँगै सरवर क्षेत्रीय संगठनमा यो पद सम्हाल्ने तेस्रो बंगलादेशी बन्नेछन्। सरवर हाल मलेसियाका लागि बंगलादेशका राजदूतका रुपमा कार्यरत छन्। सरवरले यसअघि ओमान र स्वीडेनका लागि राजदूतका रूपमा काम गरेका थिए।

सार्कको स्थापना सन् १९८५ मा भएको थियो, जसको मुख्य उद्देश्य आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रीय सहयोग हो। यसको पहल बंगलादेशले गरेको हो। सार्कमा भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल, श्रीलंका र पाकिस्तान सदस्य राष्ट्र छन्।

तर, सन् २०१६ पछि सार्क प्रभावकारी हुन छाडेको छ। त्यसको मुख्य कारण २०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलनपछि द्विवार्षिक सम्मेलन नहुनु हो।

सन् २०१६ मा सार्क शिखर सम्मेलन इस्लामावादमा तय भएको थियो। तर सोही वर्ष १८ सेप्टेम्बरमा जम्मू-कश्मीरमा भएको उरी हमलाका कारण भारतले शिखर सम्मेलनमा सहभागी हुन असमर्थता जनाएको थियो। 

इस्लामावादमा हुने बैठकमा भारतसँगै बंगलादेश, भुटान र अफगानिस्तानले पनि सहभागी हुन अस्वीकार गरेपछि शिखर सम्मेलन नै रद्द भएको थियो।

 

असार २९, २०८० शुक्रबार ०९:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।