अभिनेता सारुकको आत्महत्याबारे अनुसन्धानमा प्रहरी, कारण पहिल्याउन मोबाइल डिटेल खोतलिँदै

अभिनेता सारुकको आत्महत्याबारे अनुसन्धानमा प्रहरी, कारण पहिल्याउन मोबाइल डिटेल खोतलिँदै

काठमाडौँ : दिनभर फिल्मको सुटिङमा बसेर घर फर्किएका नायक सारुक ताम्राकार आफ्नै घरमा एकाएक सुसाइड गरेको अवस्थामा फेला परे। नेपाली चलचित्र क्षेत्रमा बिस्तारै प्रभाव बढाउँदै लगेका उनी पछिल्लो समय 'ह्यासट्याग माया' फिल्मको सुटिङमा संलग्न थिए।

उनले आत्महत्या गरेको दिन पनि दिनभर फिल्मको सुटिङस्थलमै थिए। सुटिङको काम सक्काएर उनी काठमाडौँको रातो पुलमा रहेको निजी निवासमा आए। उनको बाबु-आमा कुनै भोजमा गएका थिए। बिहीबार राति ११ बजे घर फर्कँदा उनी झुन्डिएको अवस्थामा फेला परे।

शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगियो। पोस्टमार्टमको काम सकिएपछि शुक्रवार अन्तिम संस्कार गरियो।

'इन्टु मिन्टु लन्डनमा', 'मेरी मामु', 'रानी' , 'नमरी बाँचे' लगायत फिल्मसँगै म्युजिक भिडियोहरूमा अभिनय गरेका उनी कलाकार परिवारमै हुर्किएका थिए। उनको बाबु नेपाली कला क्षेत्रका परिचित कलाकार। आफन्त अनि साथीहरूमाझ सारुक निकै मिलनसार स्वभावका रूपमा परिचित थिए।

उनी निकट जानकारका अनुसार उनमा कुनै मानसिक स्वास्थ्यको समस्या समेत देखिएको थिएन। तर दिनभर सामान्य अवस्थामै सुटिङ स्थलमा रहेर परिवार सहभागी भएको भोजमा आउँछु भनेका उनले एक्कासि किन आत्महत्या गरे खुल्न सकेन।

प्रहरीमा उनको आत्महत्याबारे अनुसन्धान गर्न उनको परिवारबाट निवेदन परेको छैन। घटनास्थलको अवस्था शङ्का गरिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको प्रहरीले अनुसन्धान भने जारी राखेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल अहिलेसम्मको अनुसन्धानमा घटनामा शङ्का गरिहाल्नुपर्ने केही नदेखिएको तर अनुसन्धान भने जारी रहेको बताउँछन्। घटनास्थल शङ्का गरिहाल्नुपर्ने नदेखिएको उनले जानकारी दिए।

पूर्व तयारीका साथ आत्महत्या गर्ने अधिकांशले आत्महत्या गर्नुको कारण खुलाउँदै सुसाइड नोट छाड्ने गरेको देखिन्छ। तर ताम्राकार घटनामा घटनास्थलमा आत्महत्याको कारण खुलाउने कुनै नोट फेला नपरेकाले आकस्मिक रूपमा घटेको कुनै घटनाका कारण उनले अप्रिय निर्णय गरेको हुनसक्ने सङ्केत गर्छ।

उनले अन्तिम अवस्थामा परिवारका कुनै सदस्यसँग सम्पर्क गरेर केही भनेको वा कुनै सन्देश पठाएको अहिलेसम्म खुलेको देखिएन। घरमा कुनै समस्या रहेको वा परिवारका सदस्यसँग समेत झगडा परेको खुलेको छैन। सामान्यतया कसैले विना कारण आत्महत्या नगर्ने भएकाले प्रहरीले अन्तिम समयमा उनले कोही न कोहीसँग मोबाइलमार्फत सन्देश आदानप्रदान भएको हुनसक्ने अनुमान गर्दै उनको मोबाइल फरेन्सिक विभागमा पठाएको छ।

'आत्महत्याको कारण खुलाउने कुनै प्रमाण फेला परेको छैन। अन्तिम समयमा उनले मोबाइलबाट कसैसँग कुराकानी गरेको हुनसक्ने अनुमान गरेर मोबाइल अनुसन्धानका लागि फरेन्सिक विभागमा पठाएका छौँ। त्यसबाट केही खुलेमा सोही अनुसार अनुसन्धान अगाडि बढ्छ' एसपी रिजालले भने।

सामाजिक सञ्जालमा शङ्का कलाकारमाथि

उनको आत्महत्यापछि सामाजिक सञ्जालमा श्रद्धाञ्जलीसँगै केही शङ्का र केही आरोपहरू सार्वजनिक भइरहेका छन्। घटनाको दिन उनको घरमा ठुलो स्वरमा म्युजिक बजेको, उनले अभिनय गरेको फिल्मको एक कलाकारसँग उनको निकट सम्बन्ध रहेको र सोही सम्बन्धमा आएको उतारचढावका कारण उनले आत्महत्या गरेको दाबीसहितको सामाग्री उनका शुभचिन्तकहरूले पोस्ट गरेका छन्।

ती पोस्टहरूमा उनको मोबाइलको अनुसन्धान हुने हो भने कसका कारण आत्महत्या गरेको खुल्ने भन्दै अनुसन्धान गर्न आग्रहहरू समेत गरिएको छ। प्रहरी अहिले अनुसन्धानमै देखियो।

असार २८, २०८० बिहीबार १९:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।