प्रधानमन्त्री पत्नी सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्न बालुवाटारमा शुभेच्छुकको भिड

प्रधानमन्त्री पत्नी सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्न बालुवाटारमा शुभेच्छुकको भिड

काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्। साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे। माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले पनि श्रद्धाञ्जलि दिए।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे।

बिहीबारै शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जलि अर्पण गरे।

नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धान्जलि अर्पण गरे।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहीबार र शुक्रबार बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो।

असार २८, २०८० बिहीबार १९:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।