८८ वर्षको उमेरमा चौथो बिहे गरेका केदारनाथको अझै पुगेन रहर, तीन दिनमा डिभोर्स भएपछि खोज्दैछन् पाँचौं श्रीमती

८८ वर्षको उमेरमा चौथो बिहे गरेका केदारनाथको अझै पुगेन रहर, तीन दिनमा डिभोर्स भएपछि खोज्दैछन् पाँचौं श्रीमती

८८ वर्षअघि भक्तपुरको बागेश्वरीमा जन्मिएका केदारनाथ काफ्ले अझै जोसिला छन्। उनको जाँगर कुनै युवाको भन्दा कम छैन। राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत हुँदै गणतन्त्रको समेत अनुभव बटुलिरहेका छन्। राणा शासन फाल्न १३ वर्षकै उमेरमा कांग्रेसको झण्डा बोकेर आन्दोलनमा होमिए।

चारवटा विवाह गरेका केदारनाथ अहिले भने एक्लै छन्। रोपाइँको समयमा पहिलो श्रीमती माइती गएर रोपार अभाव भएपछि दोस्रो विवाह गरे। अर्काकी श्रीमती भगाएर तेस्रो विवाह गरेका उनले एक महिनाअघि मात्रै चौथो विवाह गरे। तर पनि उनी एक्लो छन्। उनले आफ्ना व्यक्तिगत जीवन र विगतका कुरा उकेरासँग यसरी साटे।

१० वर्षमै दुलाहा, एक महिनाअघि चौथो विवाह
केदारनाथको पहिलो विवाह १० वर्षमै भयो। छिट्टै विवाह गरिदिने त्योबेलाको चलनको एक हिस्सा उनी बने। बुवा र हजुरबाले नै केटी हेरेर विवाह गरिदिए। उनलाई त्यो बेलामा विवाहबारे थाहा नै थिएन।

‘नेपालमा केहि वर्षअघिसम्म ६–७ वर्षको कलिलै उमेरमा छोरीको विहे गरिदिने चलन थियो। छोराछोरीको छिट्टै विवाह गरिदिए नातिनातिना, पनातीसम्म देखिन्छ भन्थे,’ उनले भने, ‘त्यहि अनुसार मेरो विवाह बुबा र हजुरबाले १० वर्षको उमेरमा नै गरिदिनुभो। श्रीमती चाहिँ ८ वर्षकी थिइन्।’

विवाह गरेको धेरै वर्षसम्म श्रीमतीसँग बोलचाल नै भएन। रिसले होइन लाजले। बोलचाल नभए पनि हातगोडामा तेल दलिदिने र विहान उठेर आफ्नो गोडा ढोग्ने गरेको केदारनाथ सम्झन्छन्।

‘पहिला श्रीमान्को गोडा नढोगी अरु काम गर्न पाइँदैनथ्यो’, उनले भने।

त्यो समयमा बुहारीहरूको काम सासुससुराको स्याहार गर्ने र चुलाचौका अनि खेतबारीको काम गर्ने हुन्थ्यो। केदारनाथका अनुसार कपाल पछाडि बाँधी बर्कोले छापेर मात्र खाना पकाउनुपर्थ्यो त्यो बेला। त्यो चलन निकै पछिसम्म रह्यो।

अहिलेजस्तो दाजुभाइ छुट्टिएर बस्ने चलन पनि थिएन रे उबेला। आफ्नो परिवार ४० जनाको भएको र खड्करोमा खाना पकाएको उनी अझै सम्झन्छन्।

‘परिवार छुट्टिएर बस्ने चलन थिएन,’ उनले सम्झिँदै भने, ‘पाँच हजुरबुवा र तिनका सन्तान गरेर हामी ४० जनाको परिवार थियौं। बुहारीहरूले त ४० जनाको खानपान र घरधन्दामै दिन सकिन्थ्यो।’

जेठमा रोपाइँ गरिन्थ्यो। धेरै घरखेत भएकाले लाठे र रोपार पनि धेरै नै आवश्यक पर्थ्यो। तर, रोपाइँ गर्ने समयमा श्रीमती माइत गएपछि घरमा रोपार अभाव भयो। त्यहि मौका पारेर केदारनाथले दोस्रो विवाह गरे।

‘४३ जग्गामध्ये ३६ रोपनी जग्गामा मकै ७ रोपनीमा धान रोप्नुपर्ने भयो। जेठमा मकै भाँच्ने बितिक्कै धान रोपिन्थ्यो। धन रोप्ने बेलामा श्रीमती माइती गइन्। रोपार नपाएपछि काभ्रे ढुङ्खर्ककी तिमिल्सिना थरकी केटीसँग विवाह गरेर दोस्रो दुलहीको रूपमा भित्र्याएँ।’

दोस्रो श्रीमती ल्याएको करिब तीन महिनापछि केदारनाथ पहिलो श्रीमती लिन ससुराली गए। त्यहि समयमा काइली आमाले दोस्रो श्रीमतीलाई अर्कोसँग पठाइदिइछन्। बाहुन परिवारमा जन्मेका उनले जैसीकी छोरी ल्याएपछि भान्सामा समस्या देखिएको थियो।

‘दोस्रो श्रीमती जैसी थिइन्, त्यो समय जैसीले छोएको भात बाहुनले खाँदैन थिए। उनले छोइदिइछन्। परिवारकाले नखाने भए। उनले बरबराउँदै बरु क्षेत्रीसँग जानुपर्ने रैछ भनेको सुनेँ,’ उनले अगाडि भने, ‘त्यो सुनेपछि जेठी श्रीमती लिन ससुराली गएँ। त्यहाँ पुगेर आउँदा काइली आमाले फकाएर अर्कोसँग पठादिनुभएछ।’

विवाहको कुरा केदारनाथ उत्साहित हुँदै कुराकानीमा खुल्दै गए। पहिलो श्रीमती बिरामी र दोस्रो पोइला गएपछि उनले अर्को विवाह गर्ने सुर कसे र बाह्रबिसेकी पौडेल बाहुनकी छोरी असनबाट भगाए। भगाएपछि मात्र थाहा पाए उनी त अर्कैकी श्रीमती रहिछन्।

विगत सम्झँदै उनले भने, ‘त्यो त अर्कोको श्रीमती पो रैछे। भगाएपछि उसको श्रीमानले रिपोर्ट हाल्यो। पुलिसले मलाई चौकीमा बोलायो। खै श्रीमती भनेर पुलिसले सोध्यो। मैले धान रोप्न गई भन्दिएँ।’

श्रीमतीसँग धनसम्पत्ति पनि लगेको हो भन्दै प्रहरीले थप केरकार गर्यो। तर केदारनाथले श्रीमती मात्रै ल्याएको भनेपछि केस त्यत्तिकै सकियो।

‘पुलिसले श्रीमतीमात्र लगिस् कि अरु पनि भनेर सोध्यो। मैले श्रीमती मात्र हो भनेँ, त्यसपछि केस त्यत्तिकै सकियो। उनी मसँगै बसिन्,’ उनले अगाडि भने, ‘अहिलेको जस्तो कानून भइदिएको भए मेरो पाता फर्काउँथे होला।’

केदारनाथको विवाहको कुरा यतिमै सकिँदैन। ८८ वर्षका उनले एक महिनाअघि मात्रै ५५ वर्षीया महिलासँग चौथो विवाह गरे तर तीन दिनमै छाड्नुपर्ने अवस्था आइलाग्यो।

‘मलाई कसैसँग पनि बोल्न दिन्नथी। बिहे गरेकै भोलिपल्ट बेलुका माओवादी हुँ भन्दै थर्काउन थाली। भात पनि मैले नै फकाएर ख्वाएँ,’ लामो हाँसो हाँस्दै उनले भने, ‘अत्ति भएपछि मैले पनि थर्काएँ, झ्यालखानामा हाल्छु भनेँ। भोलिपल्ट लिएर आएको बाक्सा दिएँ, निस्केर गई।’

चार वटी श्रीमतीको श्रीमान् भइसक्दा पनि उनको विवाह गर्ने धोको अझै पूरा भएको छैन। बुढेसकालको सहाराका लागि भए पनि विवाह गर्नपर्छ भन्ने लाग्छ केदारनाथलाई।

मुसुमुसु हाँस्दै उनी भन्छन्, ‘बुढेसकालमा एउटा साथी त चाहियो नि!, हैन?’

चार श्रीमती भए पनि सन्तान भने पहिलोबाट मात्र भएका रहेछन् उनको। तीन छोरा र दुई छोरी।

राणा फाल्न कांग्रेसको झण्डा बोके
१९९२ सालमा जन्मिएका उनले राणा शासनको राम्रै अनुभव बटुले। कांग्रेसले राणाको विरोध गरिरहेको बेला उनी पनि त्यसकै पछि लागे र कांग्रेसको चारतारे झण्डा बोके। २००७ सालको आन्दोलन अहिलेसम्म सम्झन्छन् उनी।

‘मैले थाहा पाउँदा कांग्रेसीहरूको आन्दोलन चर्किन थालेको थियो। राणाको विरोधमा जताततै राँके जुलुस र आमसभा हुन्थ्यो,’ उनले भने, ‘म पनि कांगे्रसको झण्डा बोकेर राणाविरुद्ध लागेको थिएँ।’

राणको विरोधका क्रममा कांग्रेसले जनताको घरबाट सामान लुट्ने र मान्छे कुट्ने गरेको स्मरण गर्छन्। राणाहरूले मान्छेलाई बोल्न नदिने र कांग्रेसले प्रजातन्त्र नल्याइ नछाड्ने अडानले त्योबेला ठूलै हलचल मच्चिएको उनी बताउँछन्।

उनले थप प्रष्ट्याए, ‘माओवादीको जनयुद्ध जस्तै थियो त्यो बेलाको आन्दोलन।’

२००७ सालमा राणाशासन ढलेर प्रजातन्त्र आएपछि आफूले कुनै पार्टीको झण्डा नउठाएको उनको भनाइ छ।

‘एक माना घ्यू भातमै हालेर खान्थेँ’
केदारनाथका अनुसार पहिला काठमाडौं, भक्तपुर र ललितपुरका खेतबारीमा स्याल कराउँथे। बाटोहरू स–साना गोरेटो र गल्ली थिए। सबैले गाईभैंसी पाल्ने भएकाले किनेर कमैले खान्थे। जति पनि उत्पादन हुन्थ्यो ती सबै आफैँ खपत गर्थे।

१५ सालतिरको कुरा सम्झँदै केदारनाथले भने, ‘दूध, दहि, महि खाने भनेको घरमा नै हुन्थ्यो। त्यो समयमा मैले एक माना घ्यू मज्जाले खान्थेँ। सुलसुले लाग्ला है भन्थेँ तर मलाई केहि हुन्नथ्यो।’

खाना खान त्यति जोड नगर्ने केदारनाथलाई चिया र चुरोटको भने पारखी नै हुन्। त्यो बेला फूलमाक चुरोट किनेर खाएका उनले अहिले पनि दिनमा दुई बट्टा चुरोट पिउँछन्।

बेसी जुत्ता लाउँदा फुरङ्ग
केदारनाथले थाहा पाउँदा हरेकका जिउमा खाँडीका कपडा लगाएर हिन्थे।

‘त्यो समयमा अहिलेको जस्तो लुगा लगाउन कहाँ पाउनु र बाबु?,’ उनले निकै बेर सोचेर भने, ‘यता हेरे खाँडी कै लुगा उता हेरे त्यस्तै। दुई–तीन जोर भन्दा लुगा कसैको हुन्नथ्यो। किन्ने पैसै नभएपछि लुगा कहाँबाट आउनु?’

भएका एक–दुई जोर कपडा फाटे पनि टालेर लाउनुपर्ने अवस्था रहेको उनले सुनाए।

‘त्यो समयमा एउटा मान्छेका एक–दुई जोर लुगा हुन्थ्यो। त्यो फाट्यो भने नयाँ किन्ने चलन थिएन। टालेर लाउनुपर्थ्यो,’ १५–१६ साल तिरको कुरा सम्झँदै उनले भने, ‘अहिले त मसँग दुई सय जोर भन्दा धेरै लुगा छन्।’

केदारनाथ जुत्ताको पनि असाध्यै सौखिन। पलाञ्चोके र एककाने जुत्ता लगाउनुपर्थ्यो। एककाने जुत्ता लगाएर हिँड्दा बज्ने गर्थ्यो तर उनलाई बजेको मन पर्दैनथ्यो।

‘एककाने जुत्ता लगाएर हिड्दा चुइँ–चुइँ गरी बज्थ्यो। मलाई र माइला भाइलाई बुवाले एक–एक जोर ल्याइदिनुभाथ्यो, मलाई मन नपरेपछि हुत्याइदिएँ,’ विगत सम्झँदै उनले भने, ‘त्यसपछि ९ मोर तिरेर बुवाले छालाको बेसी जुत्ता किन्दिनुभो। म फुरङ्गै।’

असार २८, २०८० बिहीबार १९:११:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।