बारबरा फाउन्डेसनको घोषणा गर्‍यो २५ लाखको खोजमूलक पत्रकारिता पुरस्कार, पाठक/दर्शक र स्रोतले नाम सिफारिस गर्न सक्ने

बारबरा फाउन्डेसनको घोषणा गर्‍यो २५ लाखको खोजमूलक पत्रकारिता पुरस्कार, पाठक/दर्शक र स्रोतले नाम सिफारिस गर्न सक्ने

काठमाडौँ : बारबरा फाउन्डेसनले पाठक/दर्शक र स्रोतले समेत सिफारिस गर्ने गरी २५ लाख राशिको 'खोजमूलक पत्रकारिता पुरस्कार' को घोषणा गरेको छ। उसले २०८१ सालका लागि प्रस्ताव आह्वान गरेको हो। सिङ्गो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनका महासचिव मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस अगाडि यस्ता पुरस्कारका लागि पत्रकार आफैँले आवेदन दिनुपर्ने वा छनौट समितिले स्वतन्त्र छानबिन गरेर छनौट गर्ने गरेको थियो। फाउन्डेसनले प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठकको सिफारिस समेत स्वीकार्य हुने जानकारी दिएको छ।

आवेदकको परिचय स्पष्ट रूपमा खुल्नुपर्ने र आवेदन २०८० चैत मसान्तभित्रमा आइसक्नुपर्नेछ फाउन्डेसनले जानकारी दिएको छ।

२५ लाख रुपैयाँ राशिमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशिका पुरस्कार प्रदान गरिने र पुरस्कारमा जोडिएको मुद्दा नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्ने उल्लेख छ।

यसका लागि वैशाख २०७९ देखि चैत २०८० (२४ महिना) भित्र प्रकाशन/प्रसारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिस्पर्धामा स्थान पाउने र पुरस्कार वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे २०२४ मे ३) मा प्रदान गरिने उल्लेख छ।

प्रतिस्पर्धा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सिफारिसका लागि फाउन्डेसनको पोर्टलमा गएर फारम भर्नुपर्ने छ।

असार २८, २०८० बिहीबार १८:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।