आत्महत्याको विषयमा स्वास्थ्यमन्त्रीले दिएको अभिव्यक्तिलाई सञ्चार माध्यमले तोडमोड गरे : स्वास्थ्य मन्त्रालय
काठमाडौंः आत्महत्या जस्तो विषयसँग जोडेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नाम सञ्चारमाध्यममा आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा जारी गर्दै स्वास्थ्यमन्त्रीले दिएको अभिव्यक्तिलाई सञ्चार माध्यमले तोडमोड गरेको आरोप लगाएको छ।
केही दिनअघि एक पत्रकार सम्मेलनमा आत्महत्या गर्ने धम्की दिने एक जना कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतले ‘आत्महत्या गर्ने भए डोरी दिन्छु’ भनेर अभिव्यक्ति दिएका थिए। स्वास्थ्यमन्त्री बस्नेतले बोलेको उक्त अभिव्यक्तिले आत्महत्यालाई प्रोत्साहन गरेको भन्दै आलोचना भइरहेको छ।
विज्ञप्तिमा‘संघ पूल’ दरबन्दीमा रहेका एक जना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाई बुझाई गर्दा पनि ति चिकित्सकले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भन्दै पटक पटक धम्कीको भाषा प्रयोग गरेको उल्लेख छ।
ती चिकित्सकले यस्तो धम्कीको भाषा प्रयोग गरेपछि तोकिएको स्थानमा जान भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषाको प्रयोग भएको उल्लेख गरिएको छ। तर हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सृजना गर्ने प्रयास गर्ने गरी सञ्चार माध्यममा भ्रम सृजना गरेको पाइएको मन्त्रालयको भनाइ छ।
असार २८, २०८० बिहीबार १७:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।