प्रधानाध्यापक र शिक्षक कुटाकुट उत्रिँदा विद्यालय तनावग्रस्त, वडाध्यक्ष भुईंमै ढले

प्रधानाध्यापक र शिक्षक कुटाकुट उत्रिँदा विद्यालय तनावग्रस्त, वडाध्यक्ष भुईंमै ढले

लालबन्दी :प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट हुँदा सर्लाहीको गोडैतास्थित वेणी भोला नमुना माध्यमिक विद्यालयमा मंगलबार तोडफोड भएको छ।

परीक्षा शुल्क लिने विषयमा विद्यालयका प्रधानाध्यापक गोडैता १० बस्ने रामचन्द्र चौधरी र शिक्षक विष्णु गाउँपालिका-३ बस्ने शुभनारायण चौधरीबीच केही समयदेखि विवाद चल्दै आएको थियो। 

सोही क्रममा मंगलबार बिहान शिक्षक शुभनारायणलाई कक्षामा पढाइरहेका बेला प्रधानाध्यापक रामचन्द्रले लाठ्ठी प्रहार गरेपछि विद्यालय परिसर केहीबेर तनावग्रस्त बनेको थियो।

शिक्षकमाथि कुटपिट भएपछि विद्यार्थीले प्रधानाध्यापकमाथि आक्रमण गरेका थिए। स्थिति घटना असमान्य बनेको हो। आक्रोशित विद्यार्थीले प्रधानाध्यापक चौधरीको ना६४प ७१४५ नम्वरको मोटरसाइकलमा आगजनी गरेका थिए। 

आगजनीबाट मोटरसाइकल पूर्ण रूपमा जलेको थियो भने तोडफोडबाट विद्यालयको कुर्सी, टेबललगायत सामग्रीमा क्षति पुगेको थियो। 

सर्लाही प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारूले प्रहरी टोली घटनास्थलमा पुगेर विद्यार्थीलाई सम्झाइबुझाइ गरी स्थिति नियन्त्रणमा लिएका थिए। विवाद गर्ने प्रधानाध्यापक र शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको छ। 

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवका अनुसार झडप रोक्न भन्दै विद्यालयमा पुगेका गोडैता नगरपालिका-८, का वडाध्यक्ष मिरेन्द्रकिशोर झा अचेत भई ढलेपछि उनलाई उपचारका लागि प्रादेशिक अस्तताल मलंगवा लगिएको थियो।

असार २८, २०८० बिहीबार १४:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।