दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा धम्की आउन थाल्योः स्वास्थ्यमन्त्री बस्नेत

दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा धम्की आउन थाल्योः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा सचिवालयमा धम्की आउन थालेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले बाहिर जिल्ला दरबन्दी भएर पनि मन्त्रालयमा काजमा बस्ने डाक्टरको व्यवस्थापन जोखिमपूर्ण रहेको बताएका हुन्।

'सबै डाक्टरलाई राजधानी चाहिएको छ। सरुवामा यस्तोसम्म जिकिर आउने रहेछ कि मैले चाहेको ठाउँमा हुँदैन भने आत्महत्या गर्छु भनेर पनि धम्क्याउने रहेछन्,' मन्त्री बस्नेतले भने, 'यो मैले थाहा पाइसकेपछि सरकारले तोकिएको ठाउँमा गएर सेवा गर्नैपर्छ। भनेर निर्देशन गरेको छु।'

तर आफूले दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्ने बताए। डाक्टरलाई दरबन्दीअनुसार पठाउन नसके स्वास्थ्य मन्त्रालयमा सुधार नहुने उनको भनाइ थियो। 

'८०० जना डाक्टर स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन्। मजस्तै मन्त्रीले राखेका हुन्। मैले एक जना पनि ल्याएको छैन,' उनले भने, 'कर्मचारी व्यवस्थापन अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ।'

असार २८, २०८० बिहीबार १३:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।