काठे पुल भाँचिएकाले बेंसीसहर–चामे सडक अवरुद्ध, मर्मत गर्न दुई दिन लाग्ने

काठे पुल भाँचिएकाले बेंसीसहर–चामे सडक अवरुद्ध, मर्मत गर्न दुई दिन लाग्ने

लमजुङ : लमजुङ  र मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ।

तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोडिने सडक अवरुद्ध बनेको हो। 

बेंसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेंसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल बिहीबारदेखि निर्माण गरिंदै छ।

सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए।

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। पुल जीर्ण भएपछि पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो।

मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजना अनुरूप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेंसीसहर चामे सडक निर्माण अघि बढाएको थियो।

वि. सं २०६९ मा सडक निर्माण सम्पन्न भए पनि सडक जीर्ण तथा बारम्बार बन्द हुने हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन्। 

असार २८, २०८० बिहीबार १२:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।