आजको मौसमः कोशी र मधेशमा भारी वर्षा हुने, आकस्मिक बाढीको जोखिम

आजको मौसमः कोशी र मधेशमा भारी वर्षा हुने, आकस्मिक बाढीको जोखिम

काठमाडौँ : देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।

सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

उक्त स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

असार २८, २०८० बिहीबार ०७:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।