जग्गा भाडामा लिएर धान रोप्दै विप्लव कार्यकर्ता

जग्गा भाडामा लिएर धान रोप्दै विप्लव कार्यकर्ता

झापा : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गरेको छ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सीले जानकारी दिए।

यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन्।

झापा जिल्ला पार्टी अन्तर्गतका सम्पुर्ण नेताकार्यकर्ता असार १० गते पश्चात्  निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले बताए।

यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्यूरो इन्चार्ज सुमनसिंह सीले बताए।

कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया, अदुवा,अलैंची लगायतको खेती भैरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही वर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नितिका साथ पार्टी अगाडि बढिरहेको र धान खेती मात्रै नभएर कृषि तथा पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भैसकेको बताए।

उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता/कार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने बताइएको छ। नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भुगोलबाट विदा दिएको छ।

आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर मुलुकैभरि यो अभियान चलाइएको छ।

असार २७, २०८० बुधबार २०:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।