दुई सन्तानको निधनपछि युएईबाट २५ दिनमै स्वदेश फर्किइन् गीता

दुई सन्तानको निधनपछि युएईबाट २५ दिनमै स्वदेश फर्किइन् गीता

बुटवल : दुई सन्तान गुमाएको खबरपछि कपिलबस्तु बुद्धभूमि नगरपालिका-१ कपासीकी गीता भुसाल स्वदेश फर्किएकी छन्।

रोजगारीका लागि युएईको दुवई पुगेकी गीता बुधबार विहान नेपाल फर्किएकी हुन्।

दुई महिनाअघि अघि पति गुमाएपछि सासुससुरा र नाबालक दुई छोराको भविष्यका लागि उनी दुवई गएकी थिइन्।

तर, सोमबार राती दुई छोराहरू ११ वर्षीय दीपक र ९ वर्षीय प्रदीपको सर्पले डसेर मृत्यु भएपछि उनी नेपाल फर्किएकी हुन्।

२८ वर्षको उमेरमा पति वियोगमा परेकी गीताले दुई महिनामै नाबालक दुई छोराहरू गुमाउनुपरेको छ।

हजुरबुवा र हजुरआमाको साथमा दुई छोराहरूलाई छाडेर उनी दुवई गएकी थिइन्। हजुरआमासँगै भुईंमा सुतेका दुई भाइ राती एक्कासी पेट दुखेको भन्दै बिझ्युँएका थिए।

नातीहरूले पेट दुखेको बताएपछि घरायसी औषधिमूलो गर्दै-गर्दा उनीहरूको दुखाई शरीरभरी फैलिँदै गयो। त्यसपछि हजुरबुवा र आमाले फुकाउने भन्दै नजिकै लगे।

असैह्य पीडा भएपछि राती ३ बजे मात्र एक पोलिक्निकमा उनीहरूलाई लगिएको थियो। तर, त्यहाँ उनीहरूलाई देख्नसाथ सर्पले डसेको भन्दै थप उपचारका लागि बुटवल पठाइएको थियो।

बुटवल पठाए पनि उनीहरू जीवित भएनन्। लुम्बिनी प्रादेशिक अस्पतालमा आएको केही बेरमा दुई दाजुभाइहरूलाई चिकित्सकले मृत घोषणा गरे।

अहिले भुसाल परिवारमा ठूलो बज्रपात मात्र परेको छैन, बुद्धभुमिको वडा नम्बर १ नै शोकाकुल बनेको वडाध्यक्ष तेजबहादुर बस्नेतले बताए। मृतक दुई दाजुभाइ स्थानीय पारिजात बोर्डिङ स्कुलमा पढ्ने गर्दथे।

असार २७, २०८० बुधबार १७:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।