‘मेयर साप’का निर्देशक भन्छन्- ‘तपाईंको प्रोगाम चाँडै बन्द हुनसक्छ विशालजी’
काठमाडौं : निर्देशक राजु गिरीले कमेडी क्लब विथ च्याम्पियन कार्यक्रम बन्द हुनसक्ने बताएका छन्।
आफूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको विषयमा चलचित्र बनाउन लागेकोमा कार्यक्रममा खिल्ली उडाइएको भन्दै उनले यस्तो बताएका हुन्।
उनले कार्यक्रमका होस्ट तथा प्रोजेक्ट हेड विशाल भण्डारी र निर्देशक विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले आफ्नो जीउधनको सुरक्षाको माग गर्दै उजुरी दिएका छन्।
निर्देशक गिरीले कार्यक्रमको ६९औं श्रृंखलामा आफ्नो नामै लिएर आफ्नै पेशाको खिल्ली उडाइएको भन्दै असन्तुष्टि प्रकट गरे। उक्त कार्यक्रममा ‘यस्तै फिल्म बनाउने भए काठमाडौंका मेयरले नेपाली फिल्मसमेत बन्द गर्छन्’ भनिएको थियो।
उनले शोका प्रोजेक्ट हेड भण्डारीलाई आफ्नो फिल्म कस्तो चल्यो भनेर आत्ममूल्याङ्कन गर्नसमेत सुझाव दिए।
उनले फेसबुकमा लेखेका छन्, ‘मैले मेयर साहेब गर्न लागे तपाईंको के को टाउको दुखाइ? यस्तै हो भने तपाईंको यो प्रोग्राम चाडैँ बन्द हुनसक्छ। सबैको जीवनमा उतारचढाव आउँछ। हजुरको फिल्म कस्तो चल्यो त्यो सबै थाहा छ। आफ्नो फाइदाको लागि भद्दा मजाक नबनाउनुस्।’
भण्डारीले निर्देशन गरेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’ बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन। उनीमाथि ‘मुम्बई एक्स्प्रेस’बाट चोरेर उक्त फिल्म बनाएकोसमेत आरोप लाग्दै आएको छ।
असार २७, २०८० बुधबार १५:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।