छोरा प्रकाशको वियोगले गलेकी सीता बौरिन सकिनन्

छोरा प्रकाशको वियोगले गलेकी सीता बौरिन सकिनन्

काठमाडौँ छोरा प्रकाश दाहाल सीताको सबैभन्दा प्रिय सन्तान।

त्यसैले त उनको अकस्मात् मृत्यु भएलगत्तै गलिन् उनी। छोराको वियोगमा गलेकी उनलाई अन्य रोगले गाँज्दै लग्यो। उनी पार्किन्सन्सलगायत दुर्लभ रोगको सिकार बनिन्। लामो समय ओछ्यान परेकी उनी बुधवार बितिन्। नर्भिक अस्पतालका अनुसार उनलाई हर्ट अट्याक भएको थियो।

प्रकाश जीवित रहेसम्म उनका हरेक काममा सुरक्षा कवच बनेर उभिएकी थिइन् उनी। जतिसुकै आलोचना भए पनि अनि जति पटक बदमासी गरे पनि उनको आमाको मनले प्रकाशलाई टाढा राख्न सकेन।

पछिल्लो समय विना मगरसँग विवाह गरेर भागेर भारत पुग्दा पनि श्रीमान् पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर छोरासँगै बुहारीको रूपमा विनालाई घरमा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको २०७० मा क्यान्सरबाट मृत्यु भयो। त्यहीबाट उनी विरक्तिएकी थिइन्। २०७४ मङ्सिर ३ गते लाजिम्पाटमा रहेको डेराको घरमा सुतेको ठाउँमा छोरा प्रकाशको मृत्यु भयो। छोरीको पीडा गुमाउँदाको घाउमा खाटा नबस्दै छोरा गुमाउँदा उनको मनमा गहिरो चोट लाग्यो। त्यो चोटबाट उनी बौरिनै सकिनन्।

सीता थला परेको निकै लामो समय भइसकेको थियो। उनको शरीरमा हलचल बन्द भएको करिब एक वर्ष नै भएको निकटहरू बताउँछन्। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि श्रीमान्सँगै उनी पनि बालुवाटार पुगिन्। प्रचण्ड बस्ने कोठासँगै सीताका लागि उपचारका लागि आवश्यक भेन्टिलेटरसँगै स्वास्थ्यकर्मीसमेत राखियो। उनको बोली बन्द भइसकेको थियो। उनको आँखाका गेडी मात्र नाचिरहन्थे।

पारिवारिक स्रोतका अनुसार प्रचण्ड सीताको निकै ख्याल गर्थे। फुर्सद भयो कि सीता भएको कोठामा जान्थे अनि टोलाइरहन्थे। सीताको स्वास्थ्य अवस्था देखेर उनी विरक्तिन्थे। प्रधानमन्त्री नियुक्त हुँदा पनि उनको मुहार उदासै थियो। उनको उदासीलाई राजनीति कोणबाट अनेक टिप्पणी गरियो। तर पारिवारिक स्रोतको दाबीअनुसार आफू प्रधानमन्त्री हुँदा साथमा छोरा नहुनु अनि श्रीमती पनि ओछ्यान पर्दा उनको मनमा खुसी फर्किएन। मनको उदासी अनुहारमा देखिने नै भयो।

 १५ वर्षको उमेरदेखिको सारथि

२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको १५ वर्षकै उमेरमा प्रचण्डसँग विवाह भएको थियो। २०२६ सालमा प्रचण्डसँग विवाह भयो। उनी २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध भइन्। जिल्लाक्षेत्र हुँदै उनी माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहिन्। उनी पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार पदमा थिइन्।

माओवादी सशस्त्र विद्रोहमा गए लगत्तै २०५२ बाटै उनी पनि भूमिगत भइन्। शान्ति सम्झौता अगाडिसम्म उनी भूमिगतै रहिन्। उनीसँगै उनका सन्तानहरू पनि भूमिगत बसे। कोही भारतमा त कोही नेपालमै उनीहरूसँगै थिए।

जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भयो। छोरा प्रकाश हृदयाघातका कारण बिते। छोरी रेनु दाहाल भरतपुर महानगरको मेयर छिन्। गङ्गा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव छिन्।

असार २७, २०८० बुधबार १३:२८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।