सीता दाहालको शव ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिने, २ बजे अन्तिम संस्कार

सीता दाहालको शव ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिने, २ बजे अन्तिम संस्कार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ। 

थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान ८ बजे सीताको निधन भएको हो। 

पार्टी सचिवालयले दिएको जानकारीअनुसार सीताको शव श्रद्धाञ्जलिका लागि ११ बजेदेखि १ बजेसम्म पेरिसडाँडामा राखिने छ। र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने सचिवालयले जनाएको छ। 

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ। 

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ। मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने गर्छ। 

असार २७, २०८० बुधबार ०९:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।