ललितानिवास प्रकरणमा पक्राउ परे भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक

ललितानिवास प्रकरणमा पक्राउ परे भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक

काठमाडौँ : ललिता निवासमा रहेको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पुर्याएको प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

श्रेष्ठ मङ्गलवार पक्राउ परेका हुन्। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाबिक गर्ने नाममा सुवर्ण शमशेरका हकदारको नाममा दर्ता गर्ने निर्णय हुँदा श्रेष्ठ विभागको महानिर्देशक थिए।

तत्कालीन श्री ५ को सरकार समरजङ्ग कम्पनीको नाममा जग्गाधनी दर्ता स्रेस्ता रहेको जग्गा हालसाबिकको बहानामा व्यक्तिको नाममा पुगेको थियो। उनीमाथि अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो। १३ करोड २३ लाख बिगो माग भएको मुद्दामा उनी धरौटीमा रिहा भएका थिए।

ब्यूरोले यही प्रकरणमा पूर्व नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको थियो।

असार २६, २०८० मंगलबार २०:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।