हाकिम कुट्ने पूर्व सांसद् र वडाध्यक्षविरुद्ध अभद्र व्यवहारको मुद्दा, कारबाही गर्न माग

हाकिम कुट्ने पूर्व सांसद् र वडाध्यक्षविरुद्ध अभद्र व्यवहारको मुद्दा, कारबाही गर्न माग

सुर्खेत : पूर्वाधार विकास कार्यालय मगुका प्रमुख दत्त बुढाथापालाई कार्यकक्षमै कुटपिट गर्ने पूर्वसांसद् दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष खेमबहादुर रावललाई कारबाहीको माग गरिएको छ।

सांसद र पेसागत संगठनहरूले दुवैलाई कडा कारबाहीको माग गरेका हुन्। प्रहरीले उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिसकेको छ।

कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कर्मचारीलाई कुट्ने परियार र वडाअध्यक्षलाई कारबाही गर्न माग गरे। उनले केही गुनासो भए सम्बन्धित निकायमा उजुरी गर्नसक्ने प्रावधान हुँदा–हुँदै कर्मचरीलाई कुटपिट गर्नु गलत भएको बताए।

पेसागत संघ संगठनले कुटपिट गर्ने परियार र रावललाई कारबाहीको माग गदै विज्ञप्ति जारी गरेका छन्। उनीहरूले राष्ट्रसेवक कर्मचारीमाथि गरिएको आक्रमणको भर्त्सना गर्दै कारबाहीको माग गरेका छन्।

१० दिनको म्याद थप गरेसँगै प्रहरीले घटना सम्बन्धी थप प्रमाणहरू खोजिरहेकोले केही दिन लम्बिनसक्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरिक्षक महेश बस्नेतले जानकारी दिए।

‘आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएर १० दिनका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौं,’ प्रमुख बस्नेतले भने, ‘घटना सम्बन्धी थप प्रमाणहरू खोज्दै छौँ। त्यसपछि कानुन बमोजिम अगाडि बढाउँछौं। मुद्दा अलि लम्बिने सम्भावना छ।’

आफ्नो कार्यकक्षमा काम गरिरहेका बुढथापालाई परियार र रावलले कार्यालयमै पुगेर पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ६ मा पर्ने सडकमा ५० लाख रूपैयाँ बिल नघटाई रकम हालिदिनुपर्ने दबाव दिएका थिए।

यता कार्यालयले अनुगमन गरेर रनिङ्ग बिलको आधारमा उक्त सडकको ११ लाख रुपैयाँ मात्रै भुक्तानी दिने तयारी गरेको थियो। सोेही विषयलाई लिएर कार्यकक्षमै आफुलाई कुटपिट गरेको प्रमुख थापाले बताए।

‘वडा नम्बर ६ मा पर्ने सडकमा ५० लाख रुपैयाँ बिल नघटाई रकम हालिदिनुपर्ने दबाव उहाँहरूले दिनुभएको थियो। हामीले अनुगमन गरेर रनिङ्ग बिलको आधारमा उक्त सडकको ११ लाख रुपैयाँ मुल्याङ्कन गरेका थियौं,’ प्रमुख थापाले भने, ‘उहाँहरूले विगतमा पूरै रकम दिने गरेको र अहिले किन नदिने भन्दै कुटपिट गरी तोडफोड समेत गर्नुभयो।’
 

असार २६, २०८० मंगलबार १८:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।