हिन्दी गीत बजेको सुन्दा मलाई औडाह हुन्थ्यो, अनि आमाको कुटाइ सम्झिएर ‘सुर्केथैली’ लेखेँ (भिडियो अन्तर्वार्ता)

हिन्दी गीत बजेको सुन्दा मलाई औडाह हुन्थ्यो, अनि आमाको कुटाइ सम्झिएर ‘सुर्केथैली’ लेखेँ (भिडियो अन्तर्वार्ता)

काठमाडौं : ‘सुर्केथैली खै, कुटुमा कुटु,फूलबुट्टे साडी’जस्ता दर्जनौँ गीतलाई युट्युबको करोड क्लबमा पुर्याउने गीतका सर्जक हुन् राजनराज शिवाकोटी, जसमा शब्द संगीत र गायन पनि उनकै हो। 

हिन्दी गीतको दबदबा रहेको नेपाली संगीत बजारमा यी गीत यति चले कि यसले विगतका गीतसंगीतका सारा रेकर्ड ब्रेक गरिदियो। लामो समयसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भयो। 

गीत चल्नुको खास कारण थियो, मौलिक शब्द र संगीत संयोजन। राजनले यही गीतबाट नेपाली संगीत उद्योगमा राज नै गरे। 

उनका यसअघि सार्वजनिक भएका गीत ‘वार्ता गराइदिउँ, म माया गर्छु, रिसाएनी ठिकै, डाँफेझैँ नाच्ने’ लगायत पप आधुनिक र लोक सबै विधाका गीत पनि चलेका थिए। तर 'सुर्के थैली'ले उनलाई त्यो उचाइमा पुर्याउन सफल गरायो। 

२०५९ सालबाट औपचारिक रूपमा संगीत क्षेत्रमा लागेका उनै राजनराज शिवाकोटीसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सारः

पछिल्लो समय के छ गीतसंगीतको माहोल ?

पहिलाको तुलनामा धेरै राम्रो छ। अहिले तुलनात्मक रूपमा नेपाली गीतसंगीत बढी बज्न, गुञ्जन थालेका छन्। नेपाली गीतसंगीत अन्तर्राष्ट्रियस्तरमा बज्न थालेका छन्।

आर्थिक मन्दीले संगीत उत्पादनमा कत्तिको असर परिरहेको छ? 

केही हदसम्म त कम भएको हो। तर, संगीत क्षेत्रमा पनि अर्थशास्त्रको नियम लागु हुन्छ। डिमाण्ड एण्ड सप्लाईको। केही समयसम्म अडियन्सले पनि र क्रियटरहरूले पनि केही रेस्ट लिएजस्तो बुझिन्छ। किनभने कहिलेकाहीँ कुनै धारको गीत चल्दा समान प्रकृतिका गीतहरू बजारमा धेरै आउन थाल्छन्। कसैले एउटा राम्रो कफी सप चलायो भने अरूले पनि त्यस्तै कफी सप चलाउनुपर्ने रै'छ भनेर त्यतै लाग्छन्। 

गीत संगीत पनि त्यस्तै हो। एउटा धार चल्यो भने यो चाहिँ पब्लिकलाई मनपर्ने रहेछ भनेर त्यही धारअनुसार सबै सर्जकहरू बग्न थाल्छन्। त्यसो हुँदा बजारमा अभाव त हुन्छ, तर परिपूर्ति हुँदै जान्छ। हामीलाई पनि मेसो हुँदैन; कि दर्शकलाई पुग्यो अब कहिले बन्द गर्ने।

तर हामी एकोहोरो लागिरहेका हुन्छौँ, उता पब्लिक चाहिँ मोनोटोनस भइसकेको हुन्छ। अहिले सर्जकको अलिकति रेस्ट पिरियड हो। 

भनेपछि अहिले संगीतमा स्रोता दर्शकले रेस्ट लिएको समय हो?

हो, किनभने एउटा प्रोग्राम लगभग दुई/अढाई घण्टाको हुँदा त्यसमा दर्शक स्रोताले नाँच्नका लागि पचासौँ गीत छानेर राखिसक्नु हुन्छ। त्यसमा मेरै ८/१० वटा पर्छन्। अरू क्रियटरहरूका पनि हुन्छन्। नयाँ चिजलाई दर्शक स्रोताले पर्खन अलिकति टाइम लाग्ने भएको हो। त्यो पनि केही समय हुन्छ। त्यसपछि फेरि आइहाल्छ। 

यो १० वर्षको अन्तरालमा संगीतले राम्रो मार्केट लिएको हो त?

भयंकर लिएको हो। तपाईं आफै अनुमान गर्नुहोस्। मलाई याद भएसम्म ७०-७१ सालमा कतै पार्टी पिकनिक, विशेष किसिमको कार्यक्रम हुँदा ९० प्रतिशतभन्दा बढी हिन्दी गीत बज्थे।

त्यो बजिरहेको देख्दा मलाई भित्रैबाट औडाहा हुन्थ्यो। यो ठाउँमा हाम्रा नेपाली गीत, हाम्रा मौलिकता बोकेका गीत बजे हुन्थ्यो भन्ने कति छटपटी हुन्थ्यो। जब मेरो ‘सुर्केथैली’ गीत बजारमा आयो। यसले एउटा ट्रेन नै परिवर्तन भयो। हाम्रो चलचित्रमा पनि लोकशैली, मौलिकपन, माटोको सुगन्ध बोकेको गीतलाई दर्शक स्रोताहरूले मन पराउनुहुँदोरैछ भन्ने अनुभूत गरायो। 

सोहीअनुसार गीतहरू बन्न थाले। यसैको दशकमा गीतसंगीत त हराभरा नै भइसक्यो नि। 

तपाईंले सुर्केथैलीको कुरा उठाइहाल्नुभयो, यो सुर्केथैली गीत कसरी जन्मियो ? 

यही छ इन्ट्रेस्टिङ कुरा। मैले अघि पनि भन्न खोज्दै थिएँ। हामीकहाँ एउटा धारको गीत चाहिँ जहिल्यै सदावहार तरिकाले दर्शक स्रोताहरूले मन पराइदिनुहुन्छ।

लोकशैली माटोको सुगन्ध भएको आधुनिक गीत चाहिँ हरेक समयमा भयंकर चल्ने गरेको छ। 

जस्तोः ‘रेशम फिरिरी, झम्के फुली’ जस्ता गीतहरू चल्दै आएका हुन् नि। 'वारि जमुना पारि जमुना'जस्ता गीत, अरू पप गीत भयंकर चलेका बेलामा पनि लोकभाकाका गीत चलि नै रहन्थ्यो। चलचित्रमा पनि लोक शैलीका गीतहरू धेरै चलिरहेका थिए।

एउटा इनर्जी सञ्चित हुन समय लाग्दो रहेछ। ६० को दशकपछि चाहिँ अलिक ग्याप थियो कि जस्तो लाग्छ। किनभने त्यही पछाडि नै हिन्दी गीतको दबदबा हामीले सहनुपरेको थियो। 

हाम्रै शैलीका गीतहरू गर्न पाइयो भने चल्न सक्छ कि भन्ने मलाई लाग्यो। मनमा यो छटपटी भइरह्यो। यस्तो खालको गीत चल्छ भन्ने कुराचाहिँ मैले पहिल्यै प्रमाणित गरिसकेको थिएँ। 

जस्तोः २०६२/६३ सालमा सिन्धु मल्ल र रामचन्द्र काफ्लेले गाउनुभएको गीत ‘वार्ता गराउदेऊ’ सुन्नु भएकै होला। यो पनि लोक तर एकदमै फरक शैलीले बनाएको गीत थियो। यो दर्शक स्रोताले एकदमै रुचाउनुभएको गीत थियो।

त्यस्तै ‘डाँफेझैँ नाच्ने हिमालझैँ हास्ने’ गीत  पनि राम्रो चलेको थियो। अरू धेरै गीत बजारमा आइरहँदा पनि यी दुई चाहिँ कहिल्यै पुराना नहुने खालका भयो। त्यसपछि भने मेरो मनमा यसले हिट गरिरह्यो। यो टाइपको गीत हामीले चलचित्र क्षेत्रमा प्रयोग सक्यौँ भने पक्कै पनि दर्शक स्रोतालाई मन पर्छ भन्ने लाग्यो। 

सुर्के थैली,पूर्वपश्चिम रेल,कुटुमा कुटु जस्ता गीतहरू मैले त्यतिखेरै बनाएर राखेको थिएँ। सुर्केथैलीका शब्दहरू अहिलेका धेरै मान्छेलाई थाहा पनि छैन होला।

गीतमा ठेट शब्दहरू कलेक्सन गर्नुहुन्छ, तपाईंले यस्ता शब्दहरू खोज्नुहुन्छ कि आफै आउँछ ?

केटाकेटीमा के बिगो गरेँ होला भनेर दिमागमा खेलाएँ। बाल्यकाल सम्झेर मैले त्यो समयमा के के बिगो गरेँ, कुन कुन बेलामा कुटाइ खाएँ, कुन कुन बेला रूखबाट लडेँ, कुन बेला कुवामा डुबेँ, कुन बेला खोलाले बगायो,कुन समयमा बाघभालुले लखेट्यो,कतिबेला बाख्रा गोठालो जाँदा अरूको बाली खाइदियो यस्ता धेरै कुरा हुन्छन् नि गाउँघरमा बस्नेहरूको। काम त यस्तै हो,डोको नाम्लो घाँसपात। त्यही सम्झिँदै जाँदा मलाई झल्यास्स हजुरआमाको सुर्के थैली याद आयो अनि यो गीत बन्यो। 

केटाकेटीमा आमाको सुर्केथैली भेटेँ, तर मलाई खोल्न आएन। थैलीमा चारतिरको तुना हुन्छ, त्यसमा दुई वटाले तुनाले खोल्ने,अर्को दुइवटाले बन्द गर्ने। त्यो भित्रको पैसा निकाल्न खोल्न नजानेपछि जोडले तान्ने हुँदा च्यातियो। पैसो पनि निस्कियो, थैलो पनि च्यातियो। आमाले थाहा पाउनुभयो कुटाइ त खाइहालियो। त्यो कुटाइ काठमाडौंमा आएपछि ताजा भएर आयो।

गीत संगीतकै क्षेत्रमा लाग्दै गर्दा यही सुर्केथैलीको गीत बनाऊँ क्यो हो भन्ने लाग्यो। ठमेलमा गएर यसबारे सोधेँ। अलि अलि बिक्री हुन्छ भन्ने कुरा भयो। फेरि भक्तपुर दरबार स्क्वायर गएर सोधेँ। त्यहाँ पनि अलि अलि विदेशीले किन्छन् भन्ने कुरा भयो। 

अनि मैले हैन, यो हाम्रो अलौकिक किसिमको एउटा सम्पत्ति हो भन्ने लाग्यो। अहिले पो कनेक्ट,आईपीएस,एटीएम हुँदाहुँदै केही नचाइने समय आयो। मोबाइल, पर्सबाट विकसित हुँदै आयो। तर मलाईचाहिँ सुर्के थैलीलाई बचाउनुपर्छ भन्ने लाग्यो। अनि गीत बनाउने बेला अन्य कुराहरू पनि मैले त्यसकै हाल्नुपर्यो। 

अब मैले सम्झिने भनेको त्यही हजुरआमा,हजुरबुबा नै हो। त्यो दलान, त्यो ठेकी मदानी नै हो। त्यहीँका बाख्रा कुखुरा नै हो। म त्यही चिजहरूमा नै केन्द्रित हुन्छु। फोकस त्यहीँ हुन्छ। र त्यही फोकस भएर नै मैले सुर्केथैली बनाएको हो। 

हजुरआमासँग खेलेको,उहाँको पछि लाग्दा र दाउरा घाँस गर्दा सबै कुरा सम्झिन थालेँ। मलाई यो गीत बनाउन लगभग ४ वर्ष लाग्यो। 

एउटा गीत बनाउन नै चार वर्ष ? 

हो त! त्यसको मेलोडी र शब्द फाइनल गर्न ४ वर्ष लाग्यो। तुरुन्त रेकर्ड गरिहाल्न सक्थेँ तर केही हतार थिएन। पहिल्यैदेखि म गर्दै जान्छु भने र अन्य काम थालेँ। ऊन भन्छु ,हैन रौँ भन्छु भनेर सोच्दासोच्दै अब कुरुस चाहियो। घरमा दिदीहरूले बनेको बुनेर सजाउनुभएको पलङपोस मलाई अहिले पनि याद छ। ती कुराहरू रिकभर हुँदै आयो, दिमागमा। मलाई हतार नभएकाले पनि बिस्तारै त्यसलाई संयोजन गर्दा यतिका समय लाग्यो। 

एउटा लाइन चाहिँ चलचित्रमा अटेन। सुर्केथैली अलिक लामो छ। अहिले जुन सुनिरहनुभएको छ, त्योभन्दा केही शब्द बढी छन्। ‘‌‌ओइ सानी,अर्थ बुझ कर्दको,छोरो हुँ म मर्दको,म मन पराउँछु रामा,खर्कै चराउँछु। बोल पनि छ। चलचित्रमा लामो हुने भएकोले प्रोडक्सन टिमले हटाएको हो। 

‘कुटुमा कुटु’ पनि त यसरी नै लेख्नुभएको होला नि? 

यसको आफ्नै कहानी छ। यो गीत सन् २००७ साल रातको १२ बजे लेखिसकिएको गीत हो। ९ वर्षको अन्तरालपछि यो गीत रेकर्ड भएको हो। उमेरमा कुनै पनि मान्छेले खैनी चुरोट खाएर,कुनै कुलतमा लागेर ओठ कालो हुँदा दाँत कालो हुँदा खसखस हुन्छ। काठमाडौंबाट घर (दोलखा) जाँदा बाटो छेउमा चौतारी छ। मेरोचाहिँ त्यहाँ बसेर लेख्ने चलन छ।

एक जना ७० वर्षका वृद्ध हजुरबुबाले दाउको भारी बोकेर चट्ट चौतारीमा बिसाउनुभयो। भारी बिसाउँदा त्यो ढाका टोपी फाँटेको हुन्छ नि, त्यो टोपी टक्क निकालेर पसिना पुछ्नुभयो। अलिक उतापट्टि अँगेरीको रूख थियो। अँगेरीको पात सुर्ती खान प्रयोग हुन्छ। उहाँले अँगेरीको पातमा बेरेको सुर्ती लुइँठो निकालेर चक्मक र जुँडो बालेर बिँडी सल्काउनुभयो। 

र त्यो मन्द मुस्कानका साथ त्यो लुइँठो मुखमा तानेर आकाशमा हेरेर यति मीठो मुस्कान दिनुभयो कि मत नतमस्तक भएँ। उहाँ हास्दै गर्दा दाँत पूरै कालो देखेँ,ओठ पनि कालो देखेँ। त्यो देखेपछि यो खुला आकाशमा उहाँको कालो दाँत पनि चिटिक्क सुहाएको देखेँ। त्यो दाँत सेता भएको भए कति राम्रो देखिन्थ्यो होला हजुरबुबालाई भन्ने पनि लाग्यो।

त्यो बेला मेरो दिमाग डाइभर्ट भयो। अनि केकेले दाँत कालो हुन्छ त भनेर सोच्न थाले। अनि खैनी खाने मान्छेको दाँत र ओठ सम्झिन थालेँ,फलानाले खैनी खान्थ्यो, फलानाले चुरोट खान्थ्यो, त्यसको पनि दाँत कालो छ। ए सन्दर्भ यस्तो रहेछ नि भनेर धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर एउटा गीत रचना गर्न खोजें।

एक प्रकारको सामाजिक सन्देश पनि दिऊँ र सुन्दर सिर्जना पनि प्रस्तुत गरौँ भन्ने मनसाय सुरु भएर गीत जन्मिएको हो। यो गीतको फाइनल त्यही मौवाको फेदमा बसेर तयार पारेको थिएँ। यो गीत मैले बिर्सि नै सकेको थिएँ। प्रायः जसो मैले लेखेका डायरीहरूमा मन परेको राख्थेँ, नत्र च्यातेर फाल्दिन्थेँ।

किनभने मलाई मन नपरेका कुराहरू राख्न झर्को लाग्छ। 

सुरुवातीका दिनमा पनि तपाईंका संगीत चलेका थिए। त्यसबेला मायाप्रेम र बिछोडका गीतहरू ल्याउनुभयो।तपाईंका सिर्जना हेर्दा कतै तपाईंले पनि मायाप्रेममा धोखा पाउनुभएर यस क्षेत्रमा हात हाल्नुभएको हो कि जस्तो लाग्यो। हो त ?

कसैसँग अफेयर चलेर ,ट्राजिटीमा परेर शब्द लेखिने कुरा होइन। अभिनय गर्नेलाई चाहिँ त्यो हुन्छ होला। कोही मान्छे कतै अफेयरमा परेर ट्राजिटीमा छ भने त्यसले नलेख्न पनि सक्छ। मान्छेलाई वेदनामा झुमेपछि त्यस्तो लाग्नु पनि स्वाभाविकै हो। यसले धोखा पाए छ र लेख्यो कि अथवा अफेयरमा चलेर लभ गीत लेख्यो कि भन्ने हुन्छ होला तर वास्तविकता त्यस्तो होइन। 

क्रियटिभ मान्छेले चाहिँ एउटा पात्रलाई परिकल्पना गरेर, भिज्न खोज्छ। उसले देख्ने भनेको समाजको कथा हो। जस्तोः मैले भने नि सुर्केथैली मैले खाएको झापड सम्झिएर लेखेँ। कुटुमा कुटु त्यो ७० वर्षको हजुरबालाई हेरेर लेखेँ। यसरी नै शब्दहरू लेखिने हुन्। यसरी नै त्यही शब्दका भावहरू संगीतमार्फत पोखिने हुन्। 

‘फूलबुट्टे सारी’ युगाण्डाकी गायिकाले गाउँदा विवादमा परेको थियो, यसको वास्तविकता के हो? 

विवादभन्दा पनि उहाँले मसँग अथोरिटी नलिई गीत रेकर्ड गराउनुभएको रहेछ। अब त्यो स्वाभाविक रूपमा कपिराइटको कुरा आउँछ। सेम ट्रयाकमा अरूको सिर्जना नसोधी गाउन पाइँदैन। पछि उहाँलाई नै मैले बोलाएर स-सम्मान नै रेकर्डलाई अफिसियल्ली बनाएँ।

यतिका गीतहरू हिट भएका छन्, पहिलो रेकर्ड गीत कुन हो नि ? 

थाहा छ नि। मेरो पहिलो गीत रेकर्ड भएको २०५९/६० सालमा ‘मायालु आउने जाने बाटोमा’भन्ने पप गीत थियो। पहिलो गीत नै चलेको थियो। त्यही गीत नै हो मलाई यो क्षेत्रमा ल्याउने। त्यतिबेला रेडियो टेलिभिजन कम थिए। तीन वटा जति रेडियो थियो। कान्तिपुर एफएम,हिट्स एफएम र क्लासिक भन्ने ३ वटा थियो।

यी तीन वटा एफएममा गीत बज्यो भने चल्थ्यो पनि। मेरो यो गीत बजारमा आउँदा कुन्ती मोक्तान दिदीहरूको ‘चोली राम्रो पाल्पाली ढाका’को चलेको थियो। 

पहिलो पटक रेडियो टेलिभिजनमा गीत बज्दा आफूलाई कस्तो फिल हुने रहेछ? 

अहिले त के खुशी भइन्छ र ? त्यो बेलामा त्यस्तो खुसी भइन्थ्यो। ‘मायालु आउने जाने बाटोमा’गीत अघि मेरा एक जना काकाले गीत गाउनुभएको थियो। यो गीतको सीडी पुर्याउन रेडियो टेलिजिभनमा जान्थ्यौँ। अनि मैले बाटोमा जाँदा काकालाई भन्थेँ,‘अब तपाईं त हिट भइहाल्नुहुन्छ। तपाईं हिट भएपछि त सबैले बोलाउँछन्। अन्तरवार्ता लिन्छन्। त्यतिबेला मेरो नाम लिन नबिर्सिनु है' भन्थेँ।

त्यतिबेला उहाँले 'तेरो नामचाहिँ म कहाँ छुटाउछु त' भन्नुहुन्थ्यो। हामीले त्यो समयमा एफएमबाट कहिले बज्छ भनेर कुरेर बस्थ्यौँ। एक दिन काकाले डेट फिक्स गर्नुभएछ, यतिबेला हाम्रो गीत बज्छ भनेर। अनि त्यो समयमा गीत सुन्थ्यौँ, बज्थ्यो पनि। 

एक दिन काका घर जानुभएछ। गाउँभरिका मान्छेलाई पिपल डाँडामा राखेर एफएमबाट गीत बजेको सुनाउनुभएछ। राजनराज शिवाकोटीको शब्द संगीतमा फलानाको स्वर भनेर बजेपछि म गाउँ जाँदा तेरो गीत यो रेडियोमा बजेको थियो नि भन्ने धेरै हुनुहुन्थ्यो। यस्तो अवस्थामा निकै खुसी लाग्ने रहेछ। 

त्यो बेला त क्यासेट सेन्टरहरू हुन्थे, उनीहरूले कलाकारलाई ठग्ने गरेका समाचारहरू सुनिन्थ्यो, तपाईं पनि ठगिनेमा पर्नुभयो कि ? 

दुःख त हुन्थ्यो। कुनै पनि कम्पनीले विश्वास गरेर कसैलाई लगानी गर्न एक किसिमको कन्फिडेन्ट चाहिन्छ। कहिलेकाहीँ राम्रो चिज हुँदाहुँदै पनि अलिकति निचोर्ने प्रचलन हुन्थ्यो। कम्पनीहरूले विश्वास नगरिदिने, यसलाई चाहिँ सकेसम्म कस्नुपर्छ भन्ने सोचाइ हुन्थ्यो।

यो अहिले पनि कतिपय ठाउँहरूमा होला। म पनि एक दुई ठाउँमा नपरेको होइन। एक दुई वर्ष त धरधरी रुनैपर्ने अवस्था पनि आएको थियो, गीत राम्रो भए पनि। अब कम्पनीले पनि यो गीत भयंकर चल्छ र कमाउँछ भन्ने पनि थिएन। हामीलाई पनि मेहनत गरेको छु,राम्रो गरेको छु भन्ने लाग्छ, तर उनीहरूलाई त लाग्दैन। ऊ त व्यापारी हो। उसले त्यसरी सोच्दैन। उसले व्यापार हिसाबले सोच्ने हो। 

गीत रेकर्ड गर्दा समस्या भयो कि? 

म आफूलाई भाग्यमानी ठान्छु। किनभने गीत रेकर्डको पहिलो पटक नै मिडियामा सपोर्ट राम्रो भयो। मिडियाकै दाइहरूले योसँग केही क्षमता छ भनेर सपोर्ट गर्नुभयो। खासगरी दिनेश डिसी,नरेश भट्टराईहरूले। 

मेरो  'पञ्चामृत' एल्बम नै कन्सेप्ट गर्दिनुभएको हो। आर्थिक समस्या पनि भएन। आफूसँग क्षमता पनि हुनुपर्यो। क्षमता नै नभई त कसैले इन्भेष्ट गर्दैन। सायद त्यो बिकाउको चिज थियो, मैले राम्रो गरेछु र मैले त्यो अवसर पाएँ। 

तपाईंको सिर्जना जति चल्यो, नाम किन चलेन ? 

तपाईंले यो एकदम राम्रो प्रश्न गर्नुभयो। यसको सबैभन्दा बढी कष्ट मैले भोग्नुपरेको छ। विभिन्न कार्यक्रममा जाँदा पनि नाम नचिनेका  घटनाहरू थुप्रै छन्। मेरो नामभन्दा बढी कामको चर्चा भयो। ती सिर्जनाहरू ऐतिहासिक तवरले अगाडि बढ्यो।

नेपाली गीतसंगीतमै पहिलोचोटि युट्युबमा एक करोड भ्युज कमाएको थियो ‘सुर्के थैली’।

अहिले आएर अर्को गीत ‘कुटुमा कुटु’ले २० करोड हाराहारी भ्युज पार गरिसकेको छ। यस्तो अवस्थामा फिजिकल्ली रूपमा म परिचित छैन भन्ने कुरा धेरै ठाउँमा भएको छ। म आफैले पनि भोगेको छु।

कहिलेकाहीँ आयोजकभित्र को कलाकारलाई बोलाउने भन्ने हुँदो रहेछ। अनि चिने जानेका दाजुभाइहरूले राजन शिवाकोटीलाई बोलाऊ भन्दा को राजनराज शिवाकोटी भन्नुहुँदो रहेछ। अनि यो यो गीतको गायक भनेपछि 'ए' भनेर बोलाउनुभएको घटना धेरै छन्। 

क्यानडामा राजनराज शिवाकोटी साँझ भनेर राखिएको थियो। तर, २,४ दिन अघिसम्म टिकटै बिक्री भएन भनिन्छ नि !

तपाईंले सुन्नुभएको कुरा ठीक हो। सुरुमा एउटामा राजेनराज शिवाकोटी राखिएको थियो भने अर्कोमा सुर्केथैली साँझ राखिएको थियो। मेरा गीतहरू राखिएपछि यो मान्छे रै'छ नि त भनेर पछि धमाधम टिकट बिक्री भएको थियो।

टिकट नै सोल्डआउट गर्नुपरेको थियो। यस्तोसम्म अवस्था आइपरेको छ। नामभन्दा पनि कामको कारणले हो। किनभने उहाँहरूले मेरो सिर्जना सुन्नुभएको छ। म पछाडि पछाडि सरस्वती अगाडि अगाडि भएको त धन्य हो। सरस्वती भनेको काम हो, म व्यक्ति त नाम हो। म पछाडि नै भएको ठीक छ।

सरस्वतीको पछाडि समातेर हिँड्न पाउनु त ठूलो कुरा हो। आफूचाहिँ अगाडि, सरस्वतीचाहिँ ऊ त्यहाँ पर भयो भने त त्यसको मजा हुँदैन। 

पछिल्लो समय संगीतकारहरू समेत स्टेज चढ्नकै लागि गीत गाउन थालेको आरोप छ नि ?

मेजर कुरा गीत कसले गाउँछ भन्नुहोस् त ? संगीत जसले पनि गरेको हुन सक्छ नि। पब्लिकको मनमस्तिष्कमा आफ्नो छाप छाड्ने गरी गाउने गायक हुन्छ। त्यहाँ संगीतकार पनि गायक हुन सक्छ। कुनै पनि संगीतकारले गाउन सक्दैन भन्ने पनि हैन। हामीले त्यसरी कहिले बुझ्नुहुन्न। 

तपाईं तीन विधामै पोख्त हुनुहुन्छ, आफूलाई चिनाउँदा के भन्नुहुन्छ ?

यसमा म यस्तो भन्ने कुरै हुँदैन। आम स्रोता दर्शकले कसरी चिन्नुहुन्छ भन्ने कुरा हो। अघि पनि भनिसकेँ, मैले मलाई चिनाउने विषयमा त संघर्ष नै गरिनँ। मेरो सिर्जना आम स्रोता दर्शकमाझ पुर्याउने कोसिस गरेँ, तर आफूले आफैंलाई चिनाउने कुरामा चाहिँ संघर्ष नै गरिनँ।

असार २६, २०८० मंगलबार १७:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।