अब देशमा कृषि वैज्ञानिक उत्पादन गर्नुपर्छ : प्रचण्ड

अब देशमा कृषि वैज्ञानिक उत्पादन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरू अब वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताए।

‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रचार कार्यमा सघाउ पुर्याउने कार्य विश्वविद्यालयले गर्नुपर्छ,’ उनले भने। 

उनले कृषि तथा वन क्षेत्रको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने पनि बताए।

‘कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ। विदेशबाट काठको आयात हुने तर स्वदेशमा उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ। यस्ता विषयलाई पर्यावरण र दिगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा आवश्यक कार्य गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने।

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयका रुपमा २०६७ सालमा स्थापना गरिएको हो। 

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरिरहेको छ।

असार २६, २०८० मंगलबार १६:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।