हजुरआमासँग सुतेका २ बालकको सर्पको डसाइबाट मृत्यु, आमा विदेशमा, बाबु दुर्घटनामा बितिसके

हजुरआमासँग सुतेका २ बालकको सर्पको डसाइबाट मृत्यु, आमा विदेशमा, बाबु दुर्घटनामा बितिसके

कपिलवस्तु : कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको मृत्यु भएको छ।

सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका-१ का दाजुभाइकै मृत्यु भएको थियो।

मृत्यु हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। दुवैजना आफ्नो ६० वर्षीया हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए।

मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए। बुबाको भने यसअघि नै दुर्घटनामा परी मृत्यु भएको थियो। 

यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिका-१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट मृत्यु भएको छ।

सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो। दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो। 

असार २६, २०८० मंगलबार १६:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।