राष्ट्रिय राजनीति र फिल्म ठ्याक्कै उस्तै, सबै अभिनय : अध्यक्ष ओली

राष्ट्रिय राजनीति र फिल्म ठ्याक्कै उस्तै, सबै अभिनय : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति अहिले फिल्मजस्तो भएको बताएका छन्।

एमाले बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्ट तत्वहरू नै भ्रष्टाचारविरोधी अभिनय गरिरहेको बताए।

‘भ्रष्ट तत्वहरू नै भ्रष्टाचारविरोधी अभिनय गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले फिल्म हेरेको हो कि राजनीति हेरेको हो जस्तो भइरहेको छ। सबै अभिनय। कमसेकम नेकपा एमाले अभिनयभन्दा माथि उठ्नुपर्छ।’

अध्यक्ष ओलीले पार्टीका कार्यकर्तालाई मिसन २०८४ नभई मिसन ५१ प्रतिशतमा लाग्न आग्रह गरे। त्यसका लागि १३९ सिटसंख्या जसरी पनि ल्याउने गरी लाग्न निर्देशन दिए।

‘मिसन ८४ हुनका लागि मिसन कम्युनिष्ट पार्टी हुनैपर्छ। त्यसो नगर्ने हो भने कम्युनिष्ट पार्टी नै हैन। मिसन ५१ प्रतिशत हो,’ उनले थपे, ‘प्रत्यक्षमा कम्तीमा ८३ र समानुपातिकमा भएको ११० मध्ये ५५ भन्दा माथि सिट चाहियो।’

अध्यक्ष ओलीले सात महिना बितिसक्दा पनि सरकारले केही राम्रो काम गर्न नसकेको टिप्पणी गरे। मिटरब्याजीहरूको सम्बन्धमा वैशाख २४ गते पेश गर्नुपर्ने प्रतिस्थापन विधेयक के हेरेर बसेको भन्दै उनले प्रश्नसमेत गरे।

माओवादी र कांग्रेस सामन्तको पक्षमा भएकाले अन्तिम दिन प्रतिस्थापन विधेयक ल्याइएको उनको आरोप छ। अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने रहेको उनले बताए।

असार २६, २०८० मंगलबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।