अंग्रेज सिपाहीहरूबाट बलात्कृत भएपछि पीडितहरूले बनाएको गाउँ, जहाँ पुरुषलाई छैन प्रवेश

अंग्रेज सिपाहीहरूबाट बलात्कृत भएपछि पीडितहरूले बनाएको गाउँ, जहाँ पुरुषलाई छैन प्रवेश

अफ्रिकी देश केन्यामा एउटा यस्तो गाउँ छ जहाँ बाहिरका पुरुषलाई प्रवेश गर्न दिइँदैन। 

लुकीछिपी गाउँ पस्न खोज्ने पुरुषलाई पक्राउसमेत गरिने गरिएको छ। उक्त गाउँमा ५० परिवार छन्। सबैका प्रमुख महिला हुन्। 

यो गाउँमा पुरुषलाई प्रवेश निषेध भए पनि यहाँ छोराछोरी जन्मिने क्रम जारी छ। यहाँका युवतीहरूलाई गाउँबाहिर गएर पुरुषसँग सम्बन्ध राख्न भने स्विकृति दिइएको छ।

उनीहरूलाई विवाह गर्न वा आफ्ना पतिलाई यहाँ ल्याउन अनुमति भने छैन। कतिपय महिलाले गाउँ बाहिर बिहे पनि गरेका छन् भने कोही परिवार र गाउँको जनसंख्या बढाउन विवाह नगरी सन्तान जन्माउने गरेका छन्। 

'छोराहरू १८ वर्ष पुगेपछि गाउँ छोड्नुपर्छ'

यस गाउँका केटाहरू १८ वर्ष पुगेपछि घर छोड्नुपर्ने नियम बनाइएको छ। त्यसपछि उनीहरू आफ्नो गाउँ फर्कन पाउँदैनन्। गाउँका महिलाले पुरुषलाई आफ्नो संसारबाट पूरै टाढा राखेका छन्। महिलाहरूले नै व्यापार, सुरक्षा, प्रशासन जस्ता काम आफैंले सम्हाल्छन्। 

घानाका फोटोग्राफर पल निन्सनले यस गाउँको भ्रमण गर्न सफल भएका थिए। उनले पुरुषबिना बाँचिरहेका महिलाहरूको फोटो खिचे। त्यसपछि यो गाउँको चर्चा विश्वभर भइरहेको छ। 

अंग्रेज सिपाहीहरूबाट बलात्कृत भएपछि पीडितहरूले गाउँ बसाए
 
यो गाउँ सन् १९९० मा १५ जना बलात्कार पीडितले स्थापना गरेका हुन्। खासमा केन्या र बेलायत बीच एक सम्झौता भएको थियो, जसअन्तर्गत बेलायती सैनिक केन्या आएर तालिम लिएका थिए, सन् १९८८ मा तालिम लिन आएका केही बेलायती सैनिकले स्थानीय विद्यालयकी छात्रालाई बलात्कृत गरेका थिए। 

बलात्कारको पीडा त छँदै छ। परिवारको गाली पनि सुन्नुपरेको थियो। ती बालिकाहरूलाई समाजले नै अपवित्र घोषित गरिदियो। कतिपय बालिका बलात्कारबाट गर्भवतीसमेत भएका थिए। 

यस्तो अवस्थामा ती किशोरीहरूले आफ्नो र आफ्ना भविष्यका सन्तानको सुरक्षाका लागि ‘उमोजो’ गाउँ स्थापना गरे। उनीहरूलाई पुरानो गाउँमा आफ्ना सन्ताहरूले अपमान सहनुपर्ने डर पनि थियो। 

विवाह र खतनाबाट बच्न युवतीहरू गाउँमा आउने गर्छन्

बलात्कार पीडितले बनाएको यो गाउँको जनसंख्या दिनप्रतिदिन बढ्दै गएको छ। अहिले यो गाउँमा विधवा, सम्बन्धविच्छेद भएका र बिहेबाट भागेका युवतीहरू पनि आउन थालेका छन्।

कुनै पनि कारणले हिंसा र अपमानको सामना गर्नुपरेका युवती र महिलाहरूलाई यस गाउँमा न्यानो स्वागत गरिन्छ। सर्त एउटै हो कि उनीहरूले पुरुषसँग कुनै प्रकारको संगत गर्नु हुँदैन। 

केन्याको यस क्षेत्रमा महिला खतना पनि एक अभ्यास हो। पछिल्ला केही वर्षयता यो गाउँमा पीडादायी खतना गर्न नचाहने युवतीहरू पनि आएका छन्।

असार २६, २०८० मंगलबार ०९:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।