एमालेले भन्यो- प्रधानममन्त्रीको सम्बोधन सकारात्मक
काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक भनेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले सचेतक पदम गिरीले प्रधानमन्त्रीले सम्बोधनलाई सकारात्मक भनेका हुन्।
‘उहाँले बोलेका सबैकुरा शिर–पुच्छर सही बोल्नुभो त म भन्न सक्दिनँ,’ उनले भने, ‘सारमा उहाँले मैले गल्ती गरेँ, भविष्यमा यस्तो गल्ती मबाट हुँदैन भन्नुभाको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं।’
असार १८ गते भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बनेको हेर्न चाहेको र त्यसका लागि पटक–पटक दिल्ली धाएको बताएका थिए।
त्यसपछि एमालेले अवरुद्ध गर्दै आएको संसद खुलाउनका लागि प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठक बसेको थियो। उक्त बैठकपछि एमालेले संसद्मा रहेको अवरोध हटाउने र प्रधानमन्त्रीले जवाफ दिने सहमति बनेको थियो।
सोही सहमतिअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका हुन्।
असार २५, २०८० सोमबार २०:०२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।