विद्यालयको सेफ्टी ट्याङ्कीमा डुबेको अवस्थामा भेटिए बालक

विद्यालयको सेफ्टी ट्याङ्कीमा डुबेको अवस्थामा भेटिए बालक

काठमाडौं : मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए।

घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए। विद्यालय दर्तासमेत नरहेको उनले बताए। विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत छन्।

विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले जानकारी दिए।

विसं २०७० मा मनोज गुरुङले स्थापना गरेका विद्यालयका सञ्चालक र प्रिन्सिपल उनी नै हुन्। विद्यालयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुन्छ।

असार २५, २०८० सोमबार १८:१०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।