उपत्यकामा ११ महिनामा साढे ९ हजार सडक दुर्घटना, १७८ जनाको मृत्यु

उपत्यकामा ११ महिनामा साढे ९ हजार सडक दुर्घटना, १७८ जनाको मृत्यु

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो ११ महिनामा भएको सडक दुर्घटनामा मात्र १७८ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म कुल नौ हजार ६८३ सवारी साधन दुर्घटना हुँदा १७८ जनाको ज्यान गएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरमा भएको दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका छन्।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन्। चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन्।

यसैगरी पैदलयात्री ५६, साइकलयात्री चार, ट्रक, बस र कार दुर्घटनामा तीन/तीन, माइक्रो तथा टिपरमा दुई/दुई र लोडर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये महिलाका तुलनामा पुरुष बढी छन्। यस अवधिमा दुर्घटनामा एक सय ३५ पुरुष र ४३ महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्। कार्यालयका अनुसार १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्षमुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएका छन्।

चालकको लापरबाहीबाट पाँच हजार सात सय ७५, तीव्र गतिका कारण दुई हजार आठ सय ३१, मादक पदार्थ सेवनका कारण पाँच सय ९५, यान्त्रिक गडबडीका कारण एक सय ४२, ओभरटेकका कारण दुई सय २७, सडकको अवस्थाका कारण २१ र मौसमका कारण ३४ सवारी साधन दुर्घटनामा परेका छन्। 

हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन्।

असार २५, २०८० सोमबार १७:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।