संसदमा भावुक हुँदै प्रचण्डले भने, ‘त्यो दिन प्रधानमन्त्री भएर बोलिन, ज्ञानुको बुवा भएर बोलेँ’

संसदमा भावुक हुँदै प्रचण्डले भने, ‘त्यो दिन प्रधानमन्त्री भएर बोलिन, ज्ञानुको बुवा भएर बोलेँ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यवासायी सरदार प्रितम सिंहको पुस्तक विमोचनमा आफू प्रधानमन्त्री भएर नबोलेका बताएका छन्।

सोमबार संसदमा सम्बोधन गर्दै आफू त्यसदिन ज्ञानुको बुवा भएर बोलेको बताएका ह्ुन्। २०६९ सालमा क्यान्सरपीडित छोरी ज्ञानु दाहालको उपचारको क्रममा दिल्लीमा भएको घटना सम्झँदा आफूले त्यस्तो बोल्न गएको उनले बताए।

आफू अलि भावनात्मक मानिस भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रितम सिंहले गरेको सहयोग र सदासयताप्रति आफूले धन्यवाद दिँदा त्यस्तो अभिव्यक्ति दिइएको बताए। उनले आफूले त्यस्तो अभिव्यक्ति नदिनुपर्नेसमेत बताए।

२०६९ सालमा क्यान्सरपीडित प्रचण्डकी छोरी ज्ञानुको अन्तिम अवस्था भएको थियो। त्यसको केही समयमा नै उनको मृत्यु भएको थियो। प्रचण्डले छोरीको अन्तिम अवस्था सम्झिएको र छोरीले सुतेको खाट र त्यहाँ भएको सोफा आफूले पुस्तक विमोचन कार्यक्रममा झलझली सम्झिएको बताए।

यस्तो छ उनको भनाइ–
‘यहाँहरू सबैलाई थाहा छ, म अलिकति भावनात्मक छु नै, यहि त प्रचण्ड भयो अब गर्नुहुन्छ के? थोरै भावनामा म आएँ र मैले भन्नुपर्ने जरुरी त थिएन त्यो कुरा। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रप्रति नै घात गर्नेकुरा हो त यो? प्रधानमन्त्रीको हैसियतले त्यो दिन मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिन, ज्ञानुको बुवा भएर बोलेँ। त्यो सेन्टिमेन्ट सम्झिनँ पुगेँ मैले अनि प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगेँ। त्यत्ति त हो कुरा। मैले क्रान्तिकालमा राष्ट्रको स्वाधिनता र भौगोलिक अखण्डताको लागि वर्षौंसम्म लडाइँ लडेको सिद्दियो यत्तिले। नाकाबन्दी हुँदा मैले लिएको अडान र गरेको संघर्ष प्रतिपक्ष दलका नेताहरूलाई राम्रोसँग थाहा छ। मेरो एउटै त्यहि भावनात्मक अभिव्यक्तिले सबै सकियो त?’

असार २५, २०८० सोमबार १७:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।