इमर्जिङ एसिया कप क्रिकेट खेल्न नेपाली टिम श्रीलंका प्रस्थान
काठमाडौं : यसै साता हुने इमर्जिङ एसिया कप क्रिकेट खेल्न नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ।
श्रीलंकामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले आज (सोमबार) नै बिदाइ गरेको थियो।
असार २८ गतेदेखि साउन ७ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूह चरणमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र यूएईको टिमसँग खेल्नेछ।
त्यस्तै समूह ‘ए’मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग यही असार २९ गते खेल्ने छ।
त्यस्तै नेपालले दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग भिडन्त गर्नेछ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन सर्राफ र सन्दिप जोरा रहेका छन्।
असार २५, २०८० सोमबार १३:४६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।